५ आश्विन २०८१, शनिबार

जसपाद्वारा लुम्बिनीबाट सत्ताको कित्ता स्पष्ट,मन्त्री बनेका ४ संसदलाई निलम्बन गर्दै स्पष्टिकरण

प्रकाशित मिति :  19 April, 2021 8:11 pm


काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ सांसदलाई निलम्बन गरेको छ ।

जसपाको लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोककुमार यादवले आज विज्ञप्ति जारी गदै मन्त्री बनेका नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेस,माओवादी केन्द्र र जसपा मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझीले मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका थिए । मन्त्री बनेकी कल्पना पाण्डे लम्सालले भने हस्ताक्षर गरेकी थिइनन् ।

अध्यक्ष यादवले चारैजनासँग स्पष्टिकरण सोधिएको जानकारी गराएका छन् ।

अध्यक्ष यादवले मन्त्री बनेका चारैजना सांसदलाई राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने बताएका छन् ।

यससँगै लुम्बिनीबाट जसपाले सत्तासमिकरणको कित्ता स्पष्ट गर्ने संकेत दिएको छ । केन्द्रको सरकार निर्माणमा पनि निर्णायक रहेको जसपाले निर्णय गर्न सकेको छैन ।

तर लुम्बिनीमा ओलीका विश्वासपात्र मानिएका मुख्यमन्त्री पोखरेल विरुद्ध माओवादी केन्द्र र कांग्रेससँग गठवन्धन गरेपछि जसपा ओलीसँग सहकार्य नगर्ने निष्कर्षमा पुगेको विश्लेषण गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !