५ आश्विन २०८१, शनिबार
एमाले विवाद

नेपाल पक्षका २७ संघीय र ५ प्रदेश सांसदलाई स्पष्टिकरण सोधियो, ३ दिनभित्र जवाफ दिन निर्देशन

प्रकाशित मिति :  20 April, 2021 2:59 pm


काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षतर्फ गएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका २७ संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

दशौं महाधिवेशन आयोजक समितिको हिजो बसेको बैठकको निर्णय अनुसार २७ जना सांसदलाई स्पष्टीकरण सोधिएको हो ।

यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, भिम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । यसपटक निलम्बन गरिएका ६ नेतासहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेश सभाका ५ सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

तीन दिनभित्र चित्त बुझ्दो जवाफ नदिए कारबाही गर्ने पत्रमा चेतावनी दिइएको छ । पत्रमा एमालेको विधानमा उल्लेखित व्यवस्थाविपरीत अनुशासन उल्लंघन गरेकाले कारबाही किन नगर्ने भनिएको छ ।

साथै छुट्टै राजनीतिक दल गठन गरेकोमा किन काबाही नगर्ने ? संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? भनेर प्रश्न गरिएको छ । आधार र कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

नेकपा एमालेभित्र विवाद चर्किदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गर्दै गएको छ भने प्रदेश सभामा फ्लोर क्रस गरेपछि एमाले नेतृत्वको सरकार संकटमा छ । आधिकारिकताको दाबी गर्दै नेपाल पक्ष निर्वाचन आयोगमा समेत गएको छ ।



प्रतिक्रिया दिनुहोस !