६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि अस्पतालको क्षमता विस्तार गर्दै जनचेतना अभियान तिब्र पार्ने

प्रकाशित मिति :  21 April, 2021 1:23 pm


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि अस्पचालहरूको क्षमता बढाउने र सबै स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्ला स्थित सबै स्थानीय तहका प्रमुखसहित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिस्तारित बैठक बसेर जनचेतनामूलक लगायतका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमतामा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सबै जिल्लाका सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा रहने व्यक्तिहरुलाई अनिवार्य मास्क प्रयोगको लागि एक हप्तासम्म ‘तपाईको मास्क खोई’ अभियान नेपाल प्रहरीलाई परिचालन गरि सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै एक हप्तापछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट निर्णय गराई मास्क प्रयोग नगर्नेहरूबाट जरीवाना तोक्ने र उठाउने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने निर्णय भएको छ । यसरी उठेको जरीवाना जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कोषमा राखी कोभिड संक्रमण नियन्त्रणमा खर्च गर्ने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीले जिल्लाको कुनै स्थानमा आकस्मिक रुपमा महामारी फैलिएको वा फैलिनसक्ने अवस्थाको आँकलन गरि प्रभावित स्थानलाई मात्र निश्चित समय सिल गर्ने र सो स्थानका संक्रमितहरूबाट संक्रमणलाई फैलिन नदिन आईसोलेशनमा राख्ने व्यवस्था मिलाउने भनिएको छ ।

४० कुनै विद्यालयमा विद्यार्थी वा शिक्षकहरूमा कोभिड संक्रमण देखिएमा सो विद्यालय तत्काल सात दिन लाई बन्द गराउने र संक्रमितलाई आईसोलेसनमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने पनि केन्द्रले निर्णय गरेको छ ।

केन्द्रले शिक्षण अस्पतालहरू रहेका जिल्ला रुपन्देही, बाँके र पाल्पाको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सो जिल्लामा रहेका शिक्षण अस्पतालहरुमा कोभिड संक्रमितहरूको उपचारको आवश्यक प्रवन्ध मिलाउने निर्णय गर्दै प्रदेशभित्रका सबै जिल्लाका अस्पतालहरुमा यस पहिले भएको निर्णयअनुसार कम्तिमा ५ बेड क्षमताको एचडियु सेवा सञ्चालन गर्ने भनिएको छ ।

सबै स्थानीय तहहरूले कोभिड महामारीको थप संक्रमण फैलिन नदिने तर्फ आवश्यक प्रवन्ध मिलाउन आईसोलेशन सेन्टरको व्यवस्थापन गर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई दैनिक आर्थिक सामाजिक गतिविधिहरु संचालन गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने केन्द्रले निर्णय गरेको छ ।

सबै आरटी पिसिआर ल्याबहरूलाई सञ्चालन गर्ने र ल्याब नभएका जिल्लाहरूले पहिले जस्तै स्वाब संकलन गरि पायक पर्ने ल्याबमा पठाई परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।

कोभिड विशेष अस्पताल धागो कारखाना रुपन्देही, बेलझुण्डी दाङ र भेरी अस्पताल बाँकेको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेशले आवश्यक प्रक्रिया यथाशीघ्र अगाडी बढाउने समेत केन्द्रले निर्णय गरेको छ ।

केन्द्रले भारतबाट नेपाल प्रवेश गर्ने सीमानाकाहरूको व्यवस्थापन र निगरानी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्ने। हेल्थ डेस्कको व्यवस्था गर्ने र नेपाल सरकारले सञ्चालनमा ल्याउने भनी उल्लेख गरेका सीमानाका बाहेक अन्य नाकाहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल प्रवेश गर्न तोकिएको सीमानाकामा एम्बुलेन्स राख्ने व्यवस्था जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्ने तथा कोभिड संक्रमणको संख्या बढ्दै गएमा अस्पतालहरुले जनरल सेवालाई कम गरेर कोभिड वार्डको व्यवस्था गर्ने निर्णय भएको छ ।

दाङ्गको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड बिरामीहरुको उपचार सेवा विस्तारको लागि पूर्व तयारी दाङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्ने जिम्मेवारी दिइएको छ भने स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरी आर्थिक र सामाजिक जीवनलाई सञ्चालन गर्न भनिएको छ ।

कोभिडबाट मृत्यू भएका व्यक्तिहरुको शव नेपाली सेनाको समन्वय र सहयोगमा व्यवस्थापन गर्ने र यदि मृतकको परिवारले शव आफै व्यवस्थापन गर्न चाहेमा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य प्रोटोकल पूर्ण पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीले स्वीकृती प्रदान गर्ने केन्द्रले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !