६ आश्विन २०८१, आइतबार

महन्थ ठाकुर बलियो हुँदा प्रधानमन्त्री ओलीलाई सजिलो

प्रकाशित मिति :  21 April, 2021 2:14 pm


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनावतिर डोर्‍याउँदै लगेको आँकलन गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले आफूले चुनावमा जाँऔं भन्दा नमानेको तर फेरि अन्य राजनीतिक दलका नेताहरूलाई चुनावमा तानी छाड्ने बताउँदै आएका छन् ।

संविधान घोषणा भइसकेपछि त्यसको विरोधमा भइरहेको आन्दोलनका बेला तराई मधेशमा मान्छे मरिरहेका बेला ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने बताइरहेका थिए ।

अहिले ओलीलाई सरकार जोगाउन र सत्तामा बसेर आफूखुशी गर्न तराई मधेशका नेताहरूको साथ सहयोग आवश्यक भएको छ । तराई मधेशका पार्टीहरू अहिले जनता समाजवादी पार्टीको रूपमा गठन भएको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका थिए । अहिले जुटिरहेकालाई फुट्न गाह्रो भइरहेको छ ।

सर्वोच्च अदालतले सत्ताधारी एमाले र माओवादी केन्द्रलाई एकीकरण अघिको अवस्थामा पु¥याइदिएपछि ओलीलाई बलियो बनाइ दियो भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले अहिले महन्थ ठाकुरलाई बलियो बनाइ दिएको जसपाका केही नेताहरूले बताउन थालेका छन् ।

जसपामा एकथरीले ओलीसँग जान नहने पक्षमा छन् भने अर्को पक्ष ओलीसँगको सहकार्यमा जोड दिइरहेका छन् । यतिबेला पार्टी गठन भएको पाँच वर्ष भित्र पार्टी फुटाउन नसकिने कानुनी प्रावधानले दलका नेताहरूलाई अप्ठयारो पारिदिएको छ ।

नाम खुलाउने सर्तमा जसपाका एक नेताले ओलीले सत्ताको ताकतमा सर्वोच्चबाट पार्टी एकीकरण नरहने गरी फैसलाको अन्त्र्य नै यही रहेको हो । यदि एकीकृत पार्टी भएको भए ओली ध्वस्त भइसक्ने ति नेताको विश्लेषण थियो । “त्यसैले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी फुटाउँदिन पार्टीमै बस्छु भन्ने गरेका हुन् ” ती नेताले भने ।

जसपा पनि जटिलतामा फसेको छ । पार्टीको एक नम्बरको अध्यक्ष महन्थ ठाकुर हुन् । उनको साथमा संसदको बहुमत सदस्यहरूको साथ छ । भट्टराई र यादव कराएर मात्रै केही नहुने देखिन्छ ।

ती नेताले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३को उपदफा (३)मा उल्लेख भएको प्रावधान “ यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबााट छुट्टिइ अर्को दल गठन हुन सक्ने छैन ।” पढी सुनाउँदै भने “जसपाका नेताहरू संसदको सदस्यता गुमाउन नचाहेकाले पार्टी फुटेको छैन् । नभए पार्टी फुटिसकेको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”
जसपाका नेता सत्यनारायण मण्डल भन्छन् “पार्टीको समस्या कार्यकारिणी समितिको बैठक बसेको छैन् । त्यो बैठक बसेमा समाधान निस्कने छ ।”

नेता मण्डलले पार्टीको निकास जे भने पनि जसपामा अहिले ठाकुर बलियो बनेका छन् । विगतमा उपेन्द्र यादवसँग रहेका चार पाँच सांसद ठाकुर नजिक रहेका छन् । पार्टी स्रोतका आधारमा मोइस्तियाक राइन, प्रदिप यादव, विमल श्रीवास्तवलगायतका केही नेता ठाकुर नजिक रहेका छन् ।

यसका अतिरिक्त अहिले ठाकुरलाई सबै भन्दा बलियो साथ राजेन्द्र महतोले दिइरहेका छन् । ओलीसँग मिलेर जानुपर्नेमा महतोको जोडबल बढी रहेको ती नेताको भनाइ रहेको छ ।

माओवादी केन्द्रले पनि ओलीलाई दिएको समर्थन फिर्ता नलिनुको कारण भनेको देश चुनावमा जान नदिन हो । माओवादीले चुनावमा जान निर्णय गरेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने छ ।

ओलीले पनि जसपाको साथ पाए सरकार बनाएर बस्ने नीति लिएको उनको भनाइ छ । ओलीले चुनावमा जानेबाटो कोर्ने कि बस्ने बाटो बनाउने त्यो खनाल नेपालसहित २७ जनालाई कारबाही गरी पार्टीबाट निकालेपछि पुष्टि हुनेछ ।

ओलीलाई ठाकुरको साथ रहे उनी जसरी पनि सरकारमा रही रहने जसपाका ती नेताको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !