६ आश्विन २०८१, आइतबार

नक्कली पिसिआर रिपोर्ट बिक्रीको आरोपमा पेन्टागन कलेजका अध्यक्ष र कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक सिंह पक्राउ

प्रकाशित मिति :  21 April, 2021 6:41 pm


काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बिक्री गरेको आरोपमा काठमाडौंको पेन्टागन कलेजका अध्यक्ष तथा कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक समेत केपी सिंह भनिने डा. खेलानन्दप्रसाद सिंह समेत पक्राउ परेको खुलेको छ ।

हिजो महानगरीय प्रहरी अपराध महाशाखाले लाजिम्पाटमा रहेको सुरिया हेल्थकेयर प्रा.लि.मा छापा मारेर नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो ।

केपी सिंह भनेर चिनिने डा.खेलानन्दप्रसाद सिंह उक्त हेल्थकेयरको प्राविधिक सल्लाहकार हुन् । प्रहरीले छापा मार्ने क्रममा प्रयोगशालामै रहेका प्राविधिक सल्लाहकार सिंहसहित म्यानेजर प्रमोद यादव, कर्मचारी बादल मिरिङ छिङ, अमनकुमार यादव, ओजेश पोख्रेल र मेरिट मल्टिकेयर मेडिकलका सरोज क्षेत्रीलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनीहरुले मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का एजेन्टहरुले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विनै नक्कली रिपोर्ट बनाएको खुलेको महाशाखाको भनाई छ ।

उनीहरुले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली पिसिआर रिपोर्ट दिने गरेको उजुरी परेको थियो । कान्तिपुर अस्पतालका अध्यक्ष सि.बि लामाले सिंह पक्राउ परेकोबारे आफूलाई जानकारी नभएको बताए ।

उनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,”तपाईंले भनेपछि थाहा पाए, तर उहाँ धेरै ठाउँमा सल्लाहकार चाहिँ बस्नुभएको छ । उक्त घटनासँग कान्तिपुर अस्पतालको कुनै सम्बन्ध छैन ।” पेन्टागन कलेज स्रोतले पनि सार्वजनिक फोटो हेरेपछि आफूहरुलाई जानकारी भएको बतायो । स्रोतले भन्यो,“यो कलेजसँग जोडिएको विषय होइन तर यो राम्रो विषय भने भएन ।”

सिंह बिरामी भएको भन्दै अस्पताल भर्ना भएपनि प्रहरीले भने म्याद थपेर अनुसन्धान अगाडि बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !