५ आश्विन २०८१, शनिबार

नेपाल समूहले ओलीलाई बुझायो स्पष्टीकरण

प्रकाशित मिति :  22 April, 2021 2:17 pm


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालसहित उनको समूहका पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार स्पष्टीकरण बुझाएका छन् ।

नेता नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन्।

स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको दाबी सहित उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको जिकिर लिएका हुन् ।
विगतमा गरेका गतिविधिहरूको बचाउ गदै नेपाल समूहका

नेता सुरेन्द्र पाण्डेले दिएको स्पष्टीकरणमा भनिएको छ “सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरू तथा जनसंगठनका सबै संरचनाहरूलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो।”

दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन मंगलबार लिखित पत्र दिएका थिए ।

स्पष्टीकरण दिन भनिएकाहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपाने रहेका छन् ।

यसअघि माधव नेपाललगायत नेतालाई ओलीले छ महिनाका लागि निलम्बन पनि गरेका थिए।

बुधबार साँझ प्रधानमन्त्री ओलीले नक्सालस्थित म्यारियट होटलमा नेता नेपालसँग वान टु वान दुई घन्टा जति छलफल गरेका थिए ।
त्यो वार्ता बारे दुवै नेताले केही खुलाएका थिएनन् । सो वर्ता गम्भीर भएको अथ्र्याइएको छ ।

एमालेका नेताहरूले पार्टी नेताहरू बिचको विभाजन हटाएर पार्टी एक हुनुपर्ने प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !