६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा धरहरा उद्घाटन,सर्वसाधारणका लागि खुल्न अझै ८ महिना लाग्ने

प्रकाशित मिति :  24 April, 2021 12:52 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नव निर्मित धरहराको उद्घाटन गरेका छन् ।

आज एक समारोहकाबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले धरहराको उद्घाटनका क्रममा शिलालेखको अनावरण गर्नुका साथै २० तल्लाबाट पुष्पवृष्टि गरे ।

२०७२ सालको भुकम्पले भत्किएको धरहरालाई आधुनिक सुविधासहित निर्माण गरिएको हो । प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेपछि सर्वसाधारणका लागि भने नवनिर्मित धरहरा चढ्न अझै ८ महिना कुर्नुपर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

भत्किएको धरहरा निर्माणका लागि २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो ।

धरहराको निर्माण सकिए पनि अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी गराए । धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिन्छ तर जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुने र समग्रमा धरहरा २५ तलाको हुने छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत ३ अर्ब ४८ करोड रहेको छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर र भूमिगत तलासहित ९२.२५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ। लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन्।

लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ। धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !