६ आश्विन २०८१, आइतबार

बाँके पुरै लकडाउन, रुपन्देहीमा जोरबिजोर प्रणाली

प्रकाशित मिति :  25 April, 2021 5:44 pm


रुपन्देही । रुपन्देहीमा सवारी सधानमा जोरबिजोर प्रणाली लागु गर्दै सबै बिद्यालय तह बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच भएको छलफलले बैशाख मसान्तसम्म जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको छ ।

यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको थियो । स्थानीय प्रशासनले बैशाख १४ गतेदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय भएको छ ।

बैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ आफ्नो पालिकामा रहेको कम्युनिटी आइशोलेशन र होम आइसोलेसनको क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ।

यस्तै बाँकेमा पुरै जिल्ला लकडाउन गर्ने निर्णय भएको छ । यसअघि नेपालगञ्जमा मात्रै लकडाउन गरिएकोमा १३ गते राति १२ बजेदेखि जिल्लाभर लकडाउन गर्ने गर्दै स्थानीय प्रशासनले आदेश जारी गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै गत बुधबार राती १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमण बढ्दै जाँदा कोहलपुर नगरपालिकाले समेत नगरक्षेत्रभित्र निषेधाज्ञा जारी गर्न माग गरेकोमा जिल्ला नै जोखिममा रहेकोले बाँके जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए ।

 



प्रतिक्रिया दिनुहोस !