सुन बिक्रीमा ठगी गरेको भन्दै एनएमबि बैंक बिरुद्व उजुरी
काठमाडौं । सुनको खूदमूल्यभन्दा बढी मूल्यमा बिक्री गरिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले एनएमबि बैंक बिरुद्व उजुरी गरेको छ ।
मञ्चले उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयमा उजुरी गरेको हो । सुन तथा सुनका गरगहनाहरुको बिक्रि वितरण नेपाल सरकारले कोटा प्रणाली अपनाइ नेपाल राष्ट्र बैंक मार्फत हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्रि बितरण सम्बन्धी कार्यबिधि, २०६८ को नियम ५ अनुसार बैंकहरुले सुनको बिक्रि मूल्य कायम गर्दा आयात गरी सम्बन्धित क्षेत्रमा पुर्याउँदा लाग्ने प्रत्यक्ष लागतमा अधिकतम ०.५ प्रतिशत भन्दा बढी हुनेगरि मार्कअप गर्न नपाइने व्यवस्था छ ।
एनएमबि बैंकले प्रति दशग्राम सुन बिक्री गर्दा बढी रकम लिएको मञ्चको आरोप छ । मञ्चले उजुरीमा भनेको छ,“हामीलाई प्राप्त सूचना अनुसार यही अप्रिल २४ तारिख २०२१ (२०७८ बैशाख ७ गते) का दिन श्री एन. एम. बि. बैंकले प्रति दश ग्राम सुन बिक्रि गर्दा कूल लागत मूल्य रकम रु. ७७०४०.०० मात्र भुक्तानी लिनु पर्नेमा रकम रु. ७७,४९०.०० लिएको पाइएकोछ । यसबाट उक्त बैंकले आफना ग्राहकसंग प्रति दश ग्राम रु. ४४९.०० (चारसय उन्नपचास रुपैंया) बढि लिईदै आएको देखिएकोछ ।”
बैंकले सुनको कारोबारमा प्रति ग्राममा नै ४४९ रुपैयाँ ठगी गरेको मञ्चको दाबी छ । मञ्चले उजुरीमा भनेको छ,“ तत्काल यस बिषयमा अनुगमन, अध्ययन अनुसन्धान गरी ठगी गर्ने बैंकहरू बिरुद्ध आवश्यक कानूनी कारबाही गरी पाउनको लागी आवश्यक कागजात सहित माननीय मन्त्रीज्यूमा निवेदन गरेका छौं ।”
उजुरी अर्थ मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकको बिदेशी बिनिमय व्यवस्थापन बिभागमा बोधार्थ दिइएको अध्यक्ष महर्जनले जानकारी दिए ।