अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरी सञ्चालन भएका उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले छिमेकी मुलुक भारतमा सङ्क्रमणको अवस्था दयनिय भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेको बेला नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दाहरु केही समयका लागि बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए।
पत्रमा ‘अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’ उल्लेख गरिएको छ।
मुलुकभर आईतबार मात्रै ३ हजार १२२ जनामा कारोना संक्रमण देखएिको थियो । संक्रमणबाट २४ घण्टामा थप २८ जनाको मृत्यु भएको थियो ।