६ आश्विन २०८१, आइतबार

कारोना संक्रमण बढ्दै गएपछि सरकारलाई संसदीय समितिको २१ बुँदे निर्देशन

प्रकाशित मिति :  27 April, 2021 5:00 am


काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमण बढ्दै गएपछि सरकारलाई २१ बुँदे निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले विभिन्न निर्देशन दिएको हो ।

समितिले कोभिड–१९को संक्रमण तीब्र रुपमा फैलिएकोले अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहितको आई.सी.यू.को अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि अक्सिजन र भेन्टिलेटरसहितको आई.सि.यू.को व्यवस्था तुरुन्त गर्नुपर्ने भनेको छ ।

त्यस्तै आइसोलेसन, क्वारेन्टाइनको व्यवस्थापन तीनवटै तहको सरकारको सक्रियतामा तीब्रतापूर्वक गर्नुपर्ने समितिले आवश्यकता औंल्याएको छ ।

नेपालगन्ज, वीरगंज, भैरहवा लगायत भारतसँग सीमा जोडिएको शहरहरू र कोभिड–१९ बढी प्रभावित ठाउँहरुमा दक्ष स्वास्थ्यकर्मीहरू यथाशक्य चाँडो पठाउनु पर्नेमा जोड दिएको छ ।

कोभिड बिरामीहरूको लागि सहज रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने भन्दै समितिले कोभिड बिमारी कुरुवालाई स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । कोभिड–१९ बिरामी उपचारमा खटिएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री र जोखिम भक्ता तुरुन्त उपलब्ध गराउन भनिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

पीसीआर परीक्षण सहज बनाउनुको साथै एसएमएस वा टेलिफोन मार्फत चादै नतिजा जानकारी गराउने व्यवस्था मिलाउन सरकारलाई भनिएको छ ।

समितिको निर्देशनमा,‘विश्व भर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणका रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७८ वैशाख ६ मा जारी गरेको आदेशको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने’ भनिएको छ ।

त्यस्तै आसोलेशन, क्वारेन्टाइन, अस्पताल, स्वास्थ्य चौकीहरुमा आवश्यक औषधि र स्वास्थ्य सामाग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने पनि भनिएको छ । समितिका अन्य निर्णयहरू :
– अस्पतालहरुमा माक्स, सेनिटाइजर अती अभाव भएको कारणले सोको तुरुन्त व्यवस्था गर्नुपर्ने ।
-सरकारी र निजी अस्पतालहरुमा कोभिड–१९ को उपचारमा लाग्ने दर रेट सम्बन्धि नीति बनाई यथाशिघ्र लागू गर्ने ।
– कारागारहरुमा मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरि कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने ।
– २०७७ चैत्र २४ गतेको समितिको निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ।
-जनशक्ति अभावलाई पूर्ति गर्न विशेष व्यवस्था गर्नुपर्ने ।
– राहत र स्वास्थ्य सामाग्री वितरण कार्यलाई उचित र न्यायोचित ढंगले गर्नुपर्ने ।
– सीमा लगायत बढी संक्रमण भएका ठाउँहरुमा हेल्थ डेस्क र सूचना डेस्क राखी सोको प्रभावकारी नियमन गर्नुपर्ने ।
– संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वय गरि आवश्यक कामकारबाही अगाडि बढाउने ।
– कोरोना नियन्त्रणमा सबै प्रकारका उपचार बिधिको प्रयोग गर्नुपर्ने ।
-. टेलिमेडिसिन मार्फत पनि कोभिड र नन्न कोभिड बिरामीले उपचार र नियमित परामर्श लिन सक्ने व्यवस्था मिलाउनु पर्ने ।
– कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक गर्नुपर्ने ।
– सर्वसाधारण नागरिकले पनि सहज रुपमा कोरोना विरुद्धको खोप प्राप्त गर्न आवश्यक व्यवस्था गर्नुपर्ने ।



प्रतिक्रिया दिनुहोस !