६ आश्विन २०८१, आइतबार

राष्ट्रिय जनमोर्चाले भन्यो,‘सांसद शाहीलाई बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’

प्रकाशित मिति :  29 April, 2021 12:03 pm


काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको सरकारकाविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको बताएको छ ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै हिजो प्रदेश सरकारविरुद्व आएको अविश्वासको प्रस्तावमाथि मतदानको दौरानमा भएको घटना अस्वभाविक भन्दै त्यसप्रति आश्चर्य र दुःख लागेको उल्लेख छ ।

अविश्वासको प्रस्तावमा मतदानको तयारी भएपछि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए र जनमोर्चाले शाहीको अनुपस्थिति रहस्यमय भनेको छ ।

विज्ञप्तिमा भनिएको छ,“ पछि बुझ्दा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ । गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।”

सांसद शाहीलाई अस्पतालमा अहिलेसम्म कसैलाई भेट्न नदिइएको भन्दै प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।”

गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनको स्थिति अज्ञात भएकोले जानकारी गराउन तथा शाही उपस्थित नहुँदासम्म संसदमा मतदानलाई स्थगित गर्नका लागि सभामुखकहाँ निवेदन दिएकी थिइन् ।

त्यसका आधारमा गण्डकी प्रदेशको संसदलार्ई सभामुखले अनिश्चितकालको लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !