४ माघ २०८१, शुक्रबार
गण्डकीमा सत्ताको चलखेल

अस्पतालबाटै जनमोर्चाका सांसद शाहीको धारणा सार्वजनिक, सरकारविरुद्व मतदान गर्ने प्रष्टिकरण

प्रकाशित मिति :  29 April, 2021 3:13 pm


काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीले अचानक विरामी भएर अस्पताल भर्ना भएको प्रष्टिकरण दिएका छन् ।

आज विज्ञप्ति जारी गर्दै सांसदले आफू अचानक विरामी भएको र अस्पताल लैजाने क्रममा बेहोस भएको समेत बताएका छन् । भनेका छन्,“ म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु ।”

शाहीले पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन् । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

शाहीले भनेका छन्,“अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहान्छु साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णयप्रति प्रतिबद्वता कायमै    छ ।”

शाहीले अहिले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको र थप स्वस्थ भए पछि आफ्नोबारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने बताएका छन् ।

शाही राष्ट्रिय जनमचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख बाट निर्वाचित प्रदेश सभाको सदस्य हुन् । हिजो गण्डकी प्रदेश सरकार विरुद्व पेश भएको अविश्वासको प्रस्तावमा मतदानका क्रममा सम्पर्क विहिन भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

उनलाई सरकारी पक्षले अपहरण गरेको आरोप समेत लगएको थियो । पछि उनी अस्पतालमा भर्ना भएको खुलेको थियो । शाहीको एकै दिन कोरोना रिपोर्ट नेगेटिभ र पोजेटिभ आएको थियो । सुरुमा सरकारी अस्पतालको रिपोर्ट नेगेटिभ आएको थियो भने निजी अस्पतालमा गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो ।

राष्ट्रिय जनमोर्चाले सरकारको विरुद्वमा आएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । जनमोर्चाका गण्डकी प्रदेशमा ३ सांसद छन् ।

एमालेको सरकार बचाउन ३१ मत चाहिन्छ । शाहीले मतदान गरे मात्रै गण्डकी प्रदेश सरकार ढल्छ । तर हिजो एकाएक बेपत्ता भएपछि हल्लिखल्ली भएको थियो । राष्ट्रिय जनमोर्चाले शाही नभेटिएसम्म सदन सञ्चालन नगर्न माग गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !