५ आश्विन २०८१, शनिबार

कोरोना कहरः भारतमा मसानघाटमा शव गाड्न लाइन

प्रकाशित मिति :  30 April, 2021 3:27 pm


काठमाडौ । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण र संक्रमणबाट हुने मृत्यु भएको वृद्धिले त्यहाँको अस्पतालमा भर्ना हुन र मसानघाटमा शव गाड्न लाइनमा बस्नु पर्ने बाध्यता सिर्जना हुन थालेको छ ।

बिहीबार भारतमा तीन लाख ७९ हजार दुई सय ५७ नयाँ संक्रमितको संख्या भएको र मृत्यु तीन हजार ६सय ४५ पुगेको छ । दैनिक मृत्यु हुने यो संख्या सबै भन्दा ठूूलो संख्या हो । यसले भारतका अस्पतालमा भर्ना गर्न लाइनमा बस्नु परेको छ ।

मृत्युको चापमा पनि वृद्धि भएसँगै मसानघाटमा शव गाड्नका लागि खाल्डो खन्न पनि गाह्रो भएको छ । मुम्बईमा शव गाड्न खाल्डो खन्ने जिम्मेवारी पाएका ५२ वर्षीय सैयद मुनिर कमरुद्दीन र उनका सहयोगीहरूले निरन्तर काम गरिरहेका छन् । कमरुद्दीन भन्छन् “मलाई कोभिडसँग डर लाग्दैन् । म पूरा हौसलाका साथ यो काम गरिरहेको छु । यो डराउने समय नभएर हौसलाका साथ काम गर्नुपर्ने बेला हो । एम्बुलेन्सबाट लाश ओराल्ने र गाड्ने नै मेरो काम हो ।” भारतका अस्पतालहरूमा बेड खाली हुने बित्तिकै अर्को रोगी आईसीयुमा भर्ना हुन लाइनमा लागेका हुन्छन् । अस्पतालहरूमा बेड र अक्सिजनको खोजीमा मानिसहरू निरन्तर गइरहेका हुन्छन् ।

भारत सरकारका मुख्य वैज्ञानिक सल्लाहकार के विजयराघवनले दोस्रो लहरको तीव्रताले सबैलाई हैरान पारेको बताए । उनले भने “हामीले दोस्रो लहरमा यसरी संक्रमितको संख्या बढेर जाने अनुमान गरेका थिएनौं । ” भारतीय सेनाले अक्सिजन लगायतका आवश्यक वस्तुको जिम्मेवारी लिएर सैनिक अस्पताल नागरिकहरूका लागि खुला गरेको छ । भारतका एक उद्योगपतिले दिएको जानकारी अनुसार मे महिनाको मध्यसम्म अक्सिजनको अभाव समाप्त हुनेछ । बुधवारदेखि १८ वर्ष माथिका सबैलाई खोप दिन रजिस्ट्रेसन सुरु गरिएको र शनिबारदेखि दिन सुरु गरिने कार्यक्रमले समस्या समाधान हुने अपेक्षा गरिएको छ । (रोयटर्स, एएफपी)



प्रतिक्रिया दिनुहोस !