६ आश्विन २०८१, आइतबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रदेश निर्वाचन कार्यालय स्थापना

प्रकाशित मिति :  1 May, 2021 10:50 am


फाइल फोटो

मकवानपुर । बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गरे । उनले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको बताए ।

आगामी जेठ ६ गते रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदै छ । स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य ११० र प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख २३८ गरी कूल ३४८ मतदाता रहेको जानकारी दिए ।

तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख अन्तिम सातासम्ममा निर्वाचन आयोग काठमाडौंबाट मतपत्र प्राप्त हुने छ ।

एमालेमा प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्य पदबाट हटाएको थियो । सोही रिक्त पदमा निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !