६ आश्विन २०८१, आइतबार

सरकारले कोरोना संक्रमितको उपचारका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद :नेपाली कांग्रेस

प्रकाशित मिति :  1 May, 2021 11:18 am


काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि सरकारले अस्पतालमा बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास बन्ने भन्दा नागरिकलाई ढाडस दिनुपर्ने पर्ने बताएका छन् ।

उनले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद भन्दै युद्धस्तरमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्,“स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।”

प्रवक्ता शर्माले थप भनेका छन्,“पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो । ”

यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने भन्द्र कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गरेको छ ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा सरकारलाई सोधिएको छ,“बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो ? संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने बिज्ञ अनुमान र विश्लेषण छ ? त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव छ ? निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने ? राजनैतिक दलहरु, संघसंस्था र समाजसंग सरकारले गरेको सहयोग अपेक्षा के हो ? फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने ? खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ ? ”

समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी रहेको भन्दै प्रवक्ता शर्माले संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने उल्लेख गरेका छन् ।

बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पुरा हुन सक्दैन भन्दै कांग्रेसले परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराएको छ ।

सरकराले हिजो मात्रै कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको भन्दै बेड उपलब्ध गराउन नसकिने भन्दै सार्वजनिक अपिल गरेपछि कांग्रेसले आज प्रतिकृया जनाएको हो ।



प्रतिक्रिया दिनुहोस !