६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि, शंकर पोखरेल नेतृत्वको सरकार जोगिएला ?

प्रकाशित मिति :  2 May, 2021 7:19 am


रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशनको पहिलो दिन आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्व प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची तय भएको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद के.सी.ले अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्ताव टेवुल गर्नेछन् ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र मिलेर मुख्यमन्त्री शंकर पोखरेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्तावमाथि आज छलफल भएपछि भोली मुख्यमन्त्री पोखरेलले आफूविरुद्वको अविश्वासको प्रस्तावमा जवाफ दिनेछन् । त्यसपछि भोली नै मतदान हुने कार्यसूची तय भएको छ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरूले समावेदन गरेका थिए ।

पोखरेल नेतृत्वको सरकार जोगिन्छ या ढल्छ अझै स्पष्ट भइसकेको छैन । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मन्त्री बनेपनि पार्टीले कारबाही गरेपछि पदमुक्त भइसकेका छन् ।

प्रदेश सभा ८७ सदस्य रहेकोमा जसपाले चार जना र माओवादी केन्द्रले दुई जना आफ्ना सांसदलाई कारबाही गरेपछि ८१ सदस्य भएको छ । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ ।

अहिले सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद रहेका छन्, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन् ।

एमाले बाहेकका दलको सांसद संख्या ३९ छ । एमालेका ४१ सांसद मध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन् । मुख्यमन्त्री पोखरेलको सरकार जोगिन माधव नेपाल पक्षको भर देखिएको छ ।

माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गरे शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने छ । पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन् । प्रधानमन्त्री ओलीलाई पोखरेल नेतृत्वको सरकार ठूलो नैतिक प्रश्न बन्ने छ ।

यसअघि कर्णाली प्रदेशमा धक्का खाइसकेका प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशमा आफ्ना विश्वासपात्र पोखरेल नेतृत्वको सरकार जोगाउन माधव नेपाल पक्षका सांसदलाई फकाउनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !