६ आश्विन २०८१, आइतबार

भारतमा झुठ्ठा मुद्दामा २४ बर्ष जेल बसेका रोल्पा जेलबाङका नरेन्द्र रोका छुटेर घर पुगे

प्रकाशित मिति :  3 May, 2021 9:04 am


जुनिसकुमार विष्ट-

रोल्पा । २४ वर्ष सम्म झुठो मुद्दामा भारतमा जेल जीवन बिताएका रोल्पा सुनछहरी गाउँपालिका-७  मझिबाङका नरेन्द्र रोकामगर छुटेर घर आइपुगेका छन् ।

ज्यान मुद्दामा हिमाचल प्रदेशको सिमलामा जेल जीवन बिताएका रोकामगर जेल मुक्त भएर यही शुक्रबार घर पुगेका हुन् । नरेन्द्रले घर पुगेपछि एउटा नयाँ जीवन पाएको बताए । गाउँमा पुग्दा उनलाई स्वागत गरिएको थियो । स्वागत पाएपछि रोकामगरले भावुक हुँदै भने,“अब गाउँमै बाँकी जिन्दगी बिताउँछु ।”

उनको स्वागतमा बसेका समाजसेवी चन्द्रबहादुर बुढामगरले भने,“जेलबाङको छोरा हामी सबैको छोरा नरेन्द्रलाई २४ वर्ष पछि भेट्दा निकै हर्षित भएका छौं ।”

नरेन्द्र २०५३ सालमा हिडेर गाउँबाट सुलिचौर गए अनि गाडी चढेर सिमला पुगेका थिए । अहिले गाडी चढेर जेल जेलबाङमै पुग्दा सपना झै लागेको बताए । उनले भने,“अहो ! धेरै परिवर्तन भएछ । उहिलेको जेलबाङ र अहिलेको जेलबाङ आकाश पातल फरक भएछ ।”

कसरी फसे नरेन्द्र ?

२०५४ सालमा हिमाचल प्रदेशको सिमलामा काम गरिरहेका नरेन्द्र केही दिन बिरामी भए ।

उनी कोठामै औषधि सेवन गरि सुतिरहेका थिए । अर्को कोठमामा नाता पर्ने रामबहादुर रोकाकी श्रीमती ढोती रोकामगर पनि बिरामी भएर सुतिरहेकी थिइन् । कोठा सँगसँगै थियो ।

दिउँसो सुतिरहेको अवस्थामा ढोती सुतिरहेको बेला गढ्याङगुडुङको आवास आयो । नरेन्द्रले भने,“ के भएको रहेछ भनेर मैले हेर्न गएको थिएँ । ढोकामा पुग्ने वित्तिकै अपरिचित व्यक्तिले मेरो टाउकोमा हानेर बेहोस बनायो । त्यसपछि मलाइ केही थाहा भएन ।”

रामबहादुर कामबाट फर्केर आउँदा साँझ नरेन्द्र अचेत अवस्थामा र ढोटी मृत्यु भएको अवस्था भेटाए । अचेत नरेन्द्रलाई उपचारको लागि सिमलाको सोल्डन हस्पिटलमा भर्ना गरियो ।

नरेन्द्रका अनुसार आफूलाई एक हप्ता सम्म आइसियुमा राखी उपचार गरेपछि बल्ल होसमा आएका थिए । सोही मुद्दामा नरेन्द्रलाई ज्यान मुद्दा लाग्यो । मृतकका श्रीमान र देवरले झुठो मुद्दा लगाएर ज्यान केशमा फसाएको घटनाका प्रत्यक्षदर्शी मनोज रोकामगरले बताए ।

नरेन्द्र उतिबेलै धरौटीमा छुट्नपनि सक्थे । तर म्याद भित्र उनका बुबा सेते रोकाले प्रतिफेर्न गएनन् र अदालतले एकतर्फि जन्मकैद फैसला गरिदियो ।

छुट्न २४ वर्ष लाग्यो

सन् १९९८ जनवरी २९ मा कैथु सबजेल सिमलामा थुन छेकका लागि जेल चलान गरिएका नरेन्द्र सन् १९९८ अगस्त ०१ मा सेसन कोर्ट सिमलाले जन्मकैदको फैसला गर्‍यो ।

उनी थुनिएको र निर्दोष रहेको थाहा पाएपछि जेलबाङ निवासी उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव सुकबहादुर रोका,जेलबाङका युके निवासी राजेन्द्र बुढामगरको आर्थिक सहयोग र समाजसेवी तथा चन्द्रबहादुर बुढामगरको विशेष पहलमा नरेन्द्र सन् २०२१ अप्रिल १३ तारिखमा रिहा भए ।

उनको रिहाईको लागि भारतको सर्वोच्च अदालतमा विशेष अपिल गरिएको थियो । सोही आधारमा नरेन्द्र राजकीय आदेशमा रिहा भएका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रमुख स्वकीय सचिव रोकाले जानकारी दिए ।

राजकीय आदेशपछि नरेन्द्र २४ वर्षपछि केन्द्रीय मोडेल जेल नाहानबाट रिहा भएका थिए । रिहा पछि घर पुगेका नरेन्द्रले भने,“अब गाउँमै बसेर बाँकी जिन्दगी समाजसेवामा लगाउँछु ।”

 



प्रतिक्रिया दिनुहोस !