७ आश्विन २०८१, सोमबार

१ हजार शैयाको अस्पताल निर्माण गर्न सेनालाई निर्देशन,ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने

प्रकाशित मिति :  3 May, 2021 4:25 pm


काठमाडौं । सरकारले नेपाली सेनालाई प्रदेश तथा संघीय राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको जनाएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने जानकारी दिए ।

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाई छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,“सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।”

सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुने उनको भनाइ थियो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने

प्रधानमन्त्री ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने योजना सुनाए । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने बताए ।

उनले भने,“लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।”

कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाई छ ।

उनले यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने जानकारी दिए ।

उनले भने,“कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।”

प्रधानमन्त्री ओलीले जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिने प्रधानमन्त्रीको भनाइ छ ।

मापदण्डको उल्लङ्घन गर्नेलाई कानूनबमोजिम दण्डित गरिने उनको चेतावनी थियो ।



प्रतिक्रिया दिनुहोस !