६ आश्विन २०८१, आइतबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  4 May, 2021 6:16 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको   छ ।

पार्टी कार्यालय कोटेश्वरमा आज बसेको स्थायी समितिको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएपछि पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

तर, वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

माओवादी केन्द्रले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइएकाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष समेत निकालेको छ ।

बैठकले संसद्को नियमित अधिवेशन बोलाउनाको सट्टा प्रधानमन्त्रीले विश्वासको मत लिने भनी विशेष अधिवेशनको रुप दिएर बैठक बोलाइनाले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता बदर गरी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा व्युँताइदिएलगत्तै माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवाज संसद्मै उठाएको थियो ।

“त्यतिखेर प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने पहल गर्नुभएन, अब केही समयभित्रै संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ”, प्रवक्ता श्रेष्ठले भने , “फागुन २३ गतेको अदालतको आदेशअनुरुप चैत २३ भित्र विश्वासको मत लिने विषयलाई छाड्ने र नियमित अधिवेशन नबोलाई विशेष अधिवेशनको रुपमा बैठक बोलाइनुको आशय राम्रो देखिँदैन ।”



प्रतिक्रिया दिनुहोस !