६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको पत्र संघीय संसद सचिवालयमा बुझायो

प्रकाशित मिति :  5 May, 2021 12:19 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थ फिर्ता लिएको पत्र संघीय संसद सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।

हिजो बसेको माओवादी केन्द्र स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार औपचारिक रुपमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संघीय संसदको सचिवालयमा दर्ता गराएको हो ।

माओवादी केन्द्रले तत्कालिन नेकपा एमालेसँग पार्टी एकीकरण नहुँदै २०७४ फागुनमा सरकार निर्माणका लागि केपी शर्मा ओलीलाई समर्थन दिएको थियो ।

माओवादी केन्द्रसहितको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए । पछि २०७५ जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो र ओलीले नै प्रधानमन्त्रीमा निरन्तरता पाए ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले पार्टी एकतालाई भंग गरि एकता पूर्वको साविककै दलहरू कायम गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र क्रियाशील भएका छन् ।

मन्त्री परिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी दिइन् । पछि पुर्नस्थापना भयो ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता नलिइ राजीनामा माग गर्दै आएको थियो ।

तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिन भन्दै वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षरमा रहरेको पत्रमा भनिएको छ,“सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात् ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ ।

अत : नेकपा(माओवादी केन्द्र)को निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय दलको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागु हुने गरी फिर्ता लिएको जानकारी गराउँदछु ।”



प्रतिक्रिया दिनुहोस !