५ माघ २०८१, शनिबार

रोल्पामा ५० सिलिण्डर अक्सिजन आउँदै,रोल्पा नगरपालिकाद्वारा ५५ बेडको आइसोलेसन सञ्चालन

प्रकाशित मिति :  5 May, 2021 5:00 pm


रोल्पा नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टर

रोल्पा । रोल्पाका लागि ५० सिलिण्डर अक्सिजन उपलब्ध हुने भएको छ । भैरहवाबाट अक्सिजन रोल्पा पठाउने टुंगो लागेको हो ।

रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भैरहवाबाट रोल्पाका लागि अक्सिजनको व्यवस्था गरिएको जानकारी दिए । रोल्पा पुगेको सिलिण्डर रोल्पा नगरपालिका,सुनिलस्मृति नगरपालिका,सुनछहरी गाउँपालिका, माडी गाउँपालिकाले बाँड्ने छन् ।

केसीले भने,“हामीले केही बढी राख्छौं, अनि केही सुनिल स्मृति गाउँपालिकाले राख्ने छ र बाँकी अन्य गाउँपालिकालाई बाँडिने छ । ४/५ सिलिण्डर तलमाथि हुन्छ होला ।”

रोल्पाका संसद तथा पूर्वमन्त्री वर्षमान पुनले अक्सिजनको व्यवस्थापनका लागि स्थानीय पालिकालाई धन्यवाद भनेका छन् । उनले भनेका छन्,”कोभिड–१९ को बढ्दो जोखिमसँग लड्न रोल्पाका स्थानीय तहहरूले पहल लिएकोमा बिशेष धन्यवाद ! ५० अक्सिजन सिलिन्डर रोल्पा पुग्ने व्यवस्था गरिएको छ ।”

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण के.सी,सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती,माडी गापा अध्यक्ष नन्दबहादुर पुन,सुनछहरी गापा अध्यक्ष आशबहादुर पुनले आ–आफ्नो पालिकामा अक्सिजन सहितको कोभिड अस्पताल र आइसोलेसन सेन्टर बनाउन गरेको भन्दै नेता पुनले धन्यवाद समेत भनेका छन् ।

काठमाडौं दाङमा पनि अक्सिजनको व्यवस्था नभएपछि भैरहवाबाट पूर्वमन्त्री पुनको पहलमा रोल्पा अक्सिजन ल्याउन लागि मेयर केसीले जानकारी दिए ।

रोल्पा नगरपालिकामा ५५ शैयाको आइसोलेसन सेन्टर उद्घाटन

रोल्पा नगरपालिकाले ५४ शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरको पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।

आइसोलसन सेन्टरलाई अक्सिजनको सुविधासहित सञ्चालन गरिने मेयर केसीले जानकारी दिए । उनले भने,“हामीसँगपनि केही अक्सिजन छ र थप आउन लागेको अक्सिजनको व्यवस्था गरेर आइसोलेसन सेन्टर सञ्चालन हुने छ ।”

सञ्चालनमा ल्याइएको बेड रोल्पा नगरपालिकाले ५० शैयाको र नेपाल पत्रकार महासंघको आग्रहमा पत्रकारहरूका लागि भनेर ५ गरि ५५ शैयाको बेड स्थापना गरिएको हो । थप ५ शैयाको बेडको व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनले पहल गरेका थिए ।

सदरमुकाम लिवाङमा रहेको सहिद स्मृति प्रतिष्ठानको भवनमा आइसोलेसन स्थापन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !