६ आश्विन २०८१, आइतबार

समर्थन जुटाउन छलफलमा प्रधानमन्त्री ओली,कांग्रेसले भन्यो,‘सहयोग गर्न सक्दैनौं’

प्रकाशित मिति :  5 May, 2021 7:27 pm


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिने निर्णय गरेपछि राजनीतिक छलफल तिब्र भएको छ ।

सरकार पक्ष र विपक्ष दुबैले आफ्नो तयारी अगाडि बढाएका छन् । प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदैछन् ।

प्रदेश सरकारमा तिब्र हलचल भइरहेका बेला संघमा पनि वर्तमान सरकार रहने कि नरहने भन्नेको निक्र्यौल हुँदै छ ।

नेकपा (माओवादी)ले आजमात्रै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी संघीय संसद सचिवालयमा दर्ता गराएको छ । माओवादीले समर्थन फिर्ता लिएसँग ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादीले समर्थन फिर्ता लिएको औपचारिक पत्र दर्ता गराएर अन्य दलसँग छलफल चलाएलगत्तै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग छलफल गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मतका लागि आग्रह गरेका हुन् । कांग्रेसले हिजो नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । साही आधार टेक्दै सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहितलाई लिएर ओली सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

झण्डै एकघण्टाको छलफलमा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत सहभागि थिए ।

छलफल सकिएपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको र आफूहरुले मत दिन नसक्ने प्रष्ट पारेको जानकारी दिए । महतले भने,“प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा राख्नुभएको छ। त्यसमा सहयोग गर्न नसक्ने स्पष्ट कुरा हामीले राख्यौं ।”

आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्ने नसक्ने र सत्ता साझेदारी गर्न नसक्ने बताएको महतको भनाई थियो । माओवादी केन्द्रले पनि छलफल अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस !