७ आश्विन २०८१, सोमबार

संक्रमित बोक्न रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्ने गाडी एम्बुलेन्स बनाइयो

प्रकाशित मिति :  6 May, 2021 8:35 am


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेको छ ।

एम्बुलेन्सको अभाव हुन नदिनका लागि मेयर बासुदेव घिमिरेले चढ्ने लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले चढ्ने लु १ झ ३२६ नम्बरको स्कार्पियो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको हो ।

मेयर घिमिरेले नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले नदिने बताए ।

उनले भने, “गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भएको छ, आजैदेखि सेवा सुरु हुन्छ ।”

नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ ।

मेयर घिमिरेले अहिले ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको र सभाहलमा थप ६० वटा बेडको आइसोलनसन सञ्चालनमा ल्याउन काम सुरु भएको जानकारी दिए ।

रुपन्देहीमा तिलोत्तमा नगरपालिका बुटवल उपमहानगरपछि सबैभन्दा धेरै मानिस कोरोना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !