६ आश्विन २०८१, आइतबार

४ दलद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

प्रकाशित मिति :  6 May, 2021 4:25 pm


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही ।  ४ राजनीतिक दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन आग्रह गरेका छन् । मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै राजीनामा दिएर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चार दलीय गठबन्धनले माग गरेको हो ।

नेकपा (माओवादी) केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगर, नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्री, जनता सामाजवादी पार्टीका प्रमुख सचेतक पुर्मती ढेंगा मगर र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता तारा जिसीले आज विज्ञप्ति जारी गरी गर्दै मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,“अब मुख्यमन्त्री शंकर पोखरेल माथी विश्वास छैन भनी नेकपा (एमाले) बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भएको अवस्थामा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि प्रदेश सरकार नेकपा ९एमाले० को दलनेता शंकर पोखरेलको नेत्तृत्वमा बन्न सक्दैन । तसर्थ मुख्यमन्त्रीको रुपमा नियुक्त शंकर पोखरेलले फेरी पनि राजीनामा दिई मार्ग प्रशस्त गर्नु बाहेक अर्को विकल्प छैन ।”

४ दलले अल्पममा रहेको स्पष्ट भएपनि पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भन्दै बहुमत सदस्यको तर्फबाट प्रस्ताव दर्ता गराएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“प्रदेश मन्त्रीपरिषद गठन गर्ने संवैधानिक कानुन र नियमको पालना गर्दै अवैधानिक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा, तत्काल प्रदेशसभा बैठकको आव्हान र गठबन्धन दलको नेता माननीय कुल प्रसाद केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश मन्त्रीपरिषद गठन गर्न प्रदेश प्रमुख समक्ष जोडदार माग गर्दछौं ।”

विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको गठबन्धन अनुसार नेपाली कांग्रेसको १९ जना, माओवादी कन्द्रको १९ जना, जसपाको २ जना र राजमोको १ जना प्रदेशसभा सदस्यहरु गरी ४१ जना रहेको र उक्त संख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्या ७९ जनाको बहुमत संख्या भएको पनि प्रदेश प्रमुखलाई स्मरण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !