सांसद श्रेष्ठको पहलमा काठमाडौं ८ निर्वाचन क्षेत्रमा ५० बेडको आइसोलेसन तयार
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा ५० बेड क्षमताको आइसोलेसन तयार भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा विनियोजित स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गतको बजेटले कोभिड–१९ बाट संक्रमित व्यक्तिको उपचारका लागि काठमाडौं महानगरपालिका वडा नंम्बर १५ स्थित आनन्दकुटी विद्यालयको जिर्ण भवनलाई मर्मत गरी आइसोलेसन सेन्टर बनाइएको हो ।
सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका हुन् ।
यस्तै कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं.८ बाट निर्वाचित संघीय सांसद श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण समेत गरेका छन् ।
काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिँदै गएकोले आफ्नो निर्वाचन क्षेत्रमा कोभिड महामारीबाट बच्न सचेतना कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।
कोरना भाइरसबारे सचेतना जगाउँदै चमती, तल्लो विजेश्वरी र मखनटोल गरेर तीन हजार मास्क तथा सावुन वितरण गरिएको छ । यसलाई निरन्तरता दिने संघीय सांसद श्रेष्ठले बताए ।
‘कोभिडबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा दिइ श्रेष्ठले मास्कको साथमा हात धुने साबुन सर्वसाधारणको घरदैलोमा गई वितरण गरेका हुन् ।
कोरोना संक्रमणको पहिलो लहरको दौरान पनि सांसद श्रेष्ठले आफ्नो क्षेत्रभित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटेर पौष्टिक खानेकुराहरु वितरण गरेका थिए ।
“कोरोना संक्रमण दर तीव्ररुपले बढेकोले यसबाट बच्न र बचाउन मास्क र साबुन वितरण गरी सचेतना कार्यक्रम सुरु गरेका छौं ।” श्रेष्ठले भने ।