६ आश्विन २०८१, आइतबार

अध्यक्ष ओलीसँगको छलफलपछि नेता नेपालले भने,‘कुनै सहमति भएको छैन,भ्रममा नपर्नुहोला’

प्रकाशित मिति :  7 May, 2021 11:45 am


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदको विश्वासको मत लिने तयारी गरिरहँदा आफैले निलम्बन गरेका नेता नेपाल र दोस्रो तहका नेतासँग छलफल तिब्र पारेका थिए । नेता नेपालले छलफलका क्रममा अहिलेसम्म कुनै छलफल नभएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता नेपालले भनेका छन्,“हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।”

उनले २०७७ फागुन २८ गते र त्यसपछि बसेका बैठकलाई कथित भन्दै भएका निर्णय फिर्ता लिनुपर्ने अडान कायमै रहेका छन् । उनले यसविषयमा कुनै भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्,“२०७७ फागुन २८ गतेर तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।”

आज राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै छ भने २७ गते गण्डकी प्रदेश र संघीय सरकारले विश्वासको मत लिँदैछन् ।

विश्वासको मतमा नेता नेपाल पक्षको भूमिका निर्णायक हुन सक्छ । ओलीले आफैले निलम्बन गरेका सहकर्मीलाई फकाउने प्रयास गरेपनि निष्कर्ष निस्कन नसकेको नेता नेपालको धारणाले प्रष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस !