राष्ट्रिय सभा उपनिर्वाचनका लागि बादल र देवकोटाको उमेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल र खिमलाल देवकोटाले उमेदवारी दर्ता गराएका छन् ।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर आज दुबैले उमेदवारी दर्ता गराएका हुन् । बादल एमालेका तर्फबाट उमेदवार बनेका हुन भने देवकोटा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका तर्फबाट उमेदवार बनेका हुन् ।
बादलको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।
देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् र समर्थकमा कांग्रेस सांसद राधा घले छन् ।
जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा बागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।
यसअघि गृहमन्त्री थापा बागमती प्रदेशबाटै राष्ट्रियसभा सदस्य थिए । माओवादी केन्द्र छाडेर एमालेमा लागेपछि उनी कारबाहीमा परेका थिए । माओवादी केन्द्रले कारबाही गरेपछि बादल पदमुक्त भएका थिए ।