स्वास्थ्य मन्त्रालयले भन्यो, ‘तत्काल थप कोभिशिल्ड खोप खरिद गर्ने अवस्था छैन’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप ल्याउने अवस्था नरहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा।जगेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी र क्षमता विस्तारमा अवरोध भइरहेकोले तत्काल थप खोप दिन नसक्ने बताएको जानकारी गराएका हुन् ।
कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले नै निर्णय गर्ने भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रालयले दाबी गरेको छ ।
‘औषधि व्यवस्था विभागको आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्सटिच्युट इन्डियाले (Serum Institute of India) ले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले,’ विज्ञप्तिमा भनिएको छ, ‘क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’