उद्योग वाणिज्य महासंघद्वारा ‘कोभिड रिलिफ नेपाल’ अभियान सुरु
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी अभियानको थालनी गरेको महासंघले जनाएको छ ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा आजदेखि हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोली वैशाख २६ गतेदेखि शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फतसहयोग लिन सक्ने महासंघले जनाएको छ ।
महासंघले भनेको छ,“हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।”
नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ ।
तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।
हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ ।
महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् ।