६ आश्विन २०८१, आइतबार

संवैधानिक परिषद्को बैठकमा सहभागि नहुन सदस्यहरूलाई माओवादी केन्द्रको आग्रह

प्रकाशित मिति :  8 May, 2021 4:50 pm


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठकमा सहभागि नहुन सदस्यहरूलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले समेत भाग नलिने निर्णय गरिसकेको भन्दै अन्य सदस्यलाई समेत सहभागि नहुन आग्रह गरेका हुन् ।

संवैधानिक परिषद्ले बहुमतले संवैधानिक निकायमा सिफारिस गर्न सक्छ । राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीस मात्रै सहभागि हुँदापनि बहुमत पुग्छ । परिषद बैठकमा प्रधानन्यायाधीस राणा सहभागि नभए बहुमत पुग्दैन ।

अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।”

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको आरोप माओवादी केन्द्रको छ ।

लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न लागिएको भन्दै परिषद् बैठकमा सहभागि नहुन माओवादी केन्द्रले आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आज विहान विज्ञप्ति जारी गर्दै बैठकमा सहभागि नहुने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !