१३ मंसिर २०८१, बिहिबार

सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल सञ्चालन गर्ने तयारीमा

प्रकाशित मिति :  9 May, 2021 8:09 pm


नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल सञ्चालन गर्ने तयारीमा लागेको छ ।

कोरोना संक्रमित बिरामीहरू अहिले अक्सिजनसहितको बेड नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै सुनवल नगरपालिकाले आफैं आइसीयूसहितको कोभिड अस्पताल सञ्चालनको तयारीमा जुटेको हो ।

नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पालिकामा १० बेडको आइसीयूसहितको २० बेडको कोभिड अस्पताल सञ्चालनमा लागेको जानकारी दिए ।

सुनवल–१ स्थित आइसोलेशन भवनमा उक्त कोभिड अस्पताल सञ्चालनको तयारी छ ।

नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका प्राविधिकहरूको सहयोगमा बेड र स्वास्थ्य उपकरण लगायतका सरसामानहरुको सेटिङ भइरहेको र उक्त अस्पताल दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिने नगरप्रमुख थापाले जानकारी दिए ।

 

नगरप्रमुख थापाले अस्पतालहरुमा बेड र अक्सिजन अभाव देखेर आफनो नगरबासीहरुलाई उपचार सेवा प्रदान गर्न सुनवलमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडसंग पहल गरी ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहितको स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त गरेको छ ।
यसभन्दा अगावै नगरपालिकाले अक्सिजनसहितको २० बेड आइसोलेशन सेन्टर सञ्चालन गर्दै आएको थियो ।

नगरपालिकामा आइसीयूसहित उक्त कोभिड अस्पताल सञ्चालनका लागि सिमेन्ट लिमिटेडले आज उक्त स्वास्थ्य उपकरणहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाले उक्त स्वास्थ्य उपकरणहरु पाएपछि कोभिड अस्पताल निर्माणमा लागिपरेको र २÷३ दिनभित्रै संचालनमा ल्याउने नगरप्रमुख थापाले जानकारी दिए ।

नगरप्रमुख थापाका अनुसार उक्त कोभिड अस्पतालमा स्वास्थ्य उपकरण सिमेन्टले दिए पनि प्राविधिक र जनशक्ति लगायतका सम्पुर्ण सञ्चालन खर्च सहयोग नगरपालिकाको रहने जानकारी दिए । यो अस्पताल सञ्चालनमा नगरउपप्रमुख दधिराम अर्याल लगायत वडाअध्यक्षहरु र कर्मचारीहरु समेत लागिपरेका छन् ।

जिल्लामै सुनवल नगरपालिकाले आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !