६ आश्विन २०८१, आइतबार

तत्काल राजीनामा दिने निर्णयबाट नेपाल पक्ष पछि हट्यो, संसद बैठकमा भने अनुपस्थित हुने

प्रकाशित मिति :  10 May, 2021 11:28 am


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष तत्कालै राजीनामा दिने निर्णयबाट पछि हटेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले तत्काल राजीनामा नदिने र प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमाथि हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेको हो ।

बैठकपछि नेता भिम रावलले भने,“नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि हामीले अनुपस्थित हुने निर्णय गरेका हौं, संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।”

नेता रावलले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेपनि अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा आफूहरु पुगेको पनि बताए ।
नेपाल पक्षले सहमतिका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान सम्मको समय दिएको थियो ।

तर प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन् । समयसीमा सकिएपछि नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मतको मतदान प्रक्रियामा अनुपस्थित हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षले तोकेको समयभन्दा झण्डै २ घण्टा ढिलो गरेर १०ः५५ बजेमात्रै ट्वीट मार्फत छलफलका लागि आग्रह गरे । उनले भनेका छन्,”आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं !



प्रतिक्रिया दिनुहोस !