६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखे यी कुरा

प्रकाशित मिति :  10 May, 2021 3:48 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलब्धीलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् ।

संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत मागेका हुन् ।

उनले भने, “सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछुु,मलाई सर्वसम्मत रुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने,“तीन वर्षमा देशमा धेरै उपलब्धीहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ ? मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।”

प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उहाँले पार्टी अलग हुँदासमेत विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताए ।

“यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन”, प्रधानमन्त्री ओलीले भने, “सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।”

वर्तमान समया कोभिड–१९बाट नागरिकलाई बचाउनका लािग सरकार लागिरहेको समेत स्पष्ट पारे । उनले त्यसका लागि धेरै प्रयास भइरहेको र कोभिडलाई सहज पराजित गर्नका लागि दूरी कायम गरी बस्नसमेत आग्रह गरे ।

“यो समय नागरिकलाई बचाउने समय हो, त्यस अभियानमा सबै जना लागौंँ”, प्रधानमन्त्री ओलीले भने , “कोभिड नियन्त्रणको अभियानमा हामी फेरि पनि लागौंँ, सरकार कसको आउला, कसको बन्ला त्यो अलग कुरा हो ।”

‘समृद्ध नेपाल : सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न नेपालका सबै क्षेत्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

त्यसका लागि युवा स्वरोजगार र महिला उत्थान कार्यक्रम बनाइएको उनले बताए । प्रधानमन्त्री ओलीले सरकार सडक बालबालिकामुक्त देश बनाउने बनाउने अभियानमा लागिरहेको र स्वास्थ्य बीमा कार्यक्रममा धेरै जनसंख्यालाई सहभागी गराउने दूरगामी कामसमेत गर्दै आएको स्पष्ट पारे ।

“शारीरिक अशक्त व्यक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएका छौँ”, प्रधानमन्त्री ओलीले भने, “कोही छैन भनेर चिन्ता लिनु पर्दैन, सरकारले हेर्छ, सरकार अभिभावक हो, कोही अभिभावक छैन भने पनि सरकार छ ।”

भूकम्पपछिको पुनःनिर्माण गर्ने काममा तीव्रता दिइएको जनाउँदै उनले धरहरा, दरबार हाइस्कूल, वसन्तपुर दरबार, सिंहदरबारको पुनःनिर्माण, अस्पताल, पुरातात्त्विक महत्त्वका संरचनाको पुनःनिर्माण असाधारण तरिकाले भएको र मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा आएको सुनाए ।

“दैनिक छ किलोमिटर सडक बनी कालोपत्रे भएको छ, त्यसमा सरकारले निरन्तरता दिएको छ”, उनले थपे , “ धेरै विकासका अयोजना बन्दै गएको छ र १२ वटा नयाँ सिटी बन्दै छन् ।”

उनले उद्योगलाई सुरक्षा र संरक्षण, व्यापार सन्तुलन, सामाजिक पूर्वाधार विकास, बालबालिका हित, उच्च शिक्षालाई अनुसन्धानको केन्द्र बनाउने र आधुनिक र प्रतिस्पर्धी शिक्षा बनाउन सरकारले ध्यान दिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले औचित्यपूर्ण ढंगले संविधानमा संशोधन गर्न सकिने जनाउँदै भने, “संविधान औचित्य र आवश्यकताका आधारमा संशोधन हुन सक्छ, अब कसैले विखण्डन र विभाजनको राजनीति रोज्दैन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन ।”

राजनीतिक उद्देश्य प्राप्ति र माग तथा आकाङ्क्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोचको अन्त्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको विचार मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याएको र ती ऐतिहासिक र ठूलो उपलब्धि भएको बताए ।

उनले भौतिक पूर्वाधारका क्षेत्रका विकास जस्तै नेपाललाई सुरुङ मार्गको नयाँ युगमा पुर्‍याउने तथा हवाई मार्ग, सञ्चारका क्षेत्रमा धेरै काम भइरहेको समेत जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !