६ आश्विन २०८१, आइतबार

ढल्यो केपी ओली नेतृत्वको सरकार

प्रकाशित मिति :  10 May, 2021 5:50 pm


काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेको छ ।

प्रतिनिधि सभामा आज विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली नेतृत्वको सरकार ढलेको हो । ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन मिलेर चुनाव लडेका थिए ।

बाम गठवन्धनले झण्डै दुई तिहाई बहुमत प्राप्त गरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ३ वर्ष २ महिनाको सरकारको नेतृत्वको अवसर पाएका ओलीको सरकार मात्रै ढलेको छैन दुई तिहाई बहुमतको पार्टी पनि छिन्नभिन्न भएको छ ।

बैठकमा उपस्थित २३२ जना सांसदमध्ये ९३ जनाले पक्षमा, १२४ जनाले विपक्षमा मतदान गरेका थिए भने तटस्थमा १५ मत परेको थियो ।  स्थायी सरकारको नारा लिएर चुनाव लडेको बाम गठवन्धन किचलोमै तीन वर्ष बित्यो । स‍ं‍वैधानिक व्यवस्थाअनुसार दुई वर्षसम्म अविश्वासका प्रस्ताव पेश गर्न नमिल्ने कारणले ओली नेतृत्वका सरकारको आयु लम्बेको थियो ।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।  तर, आन्तरिक संघर्षका कारण प्रधानमन्त्री  ओलीले गत पुस ५ गते प्रतिनिधि सभा नै विघटन गरिदिए । पछि सर्वोच्च अदालतले पुनर्स्थापना गर्‍यो ।

नेकपाको नामबारे सर्वोच्च अदालतले अर्को फैसला फागुन २३ सुनाइदियो जसले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्कायो ।

प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिन असफल भएपछि उनको सरकार ढलेको हो ।



प्रतिक्रिया दिनुहोस !