६ आश्विन २०८१, आइतबार

नेपाली कांग्रेस अर्घाखाँचीले पार्टी कार्यालय कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउने

प्रकाशित मिति :  11 May, 2021 8:04 am


अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले पार्टी कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस जिल्ला सभापति विष्णु खनालले विज्ञप्ति जारी गर्दै सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला पार्टी कार्यालयको भवनलाई कोभिड उपचार तथा आइसोलेसन कक्षको रुपमा प्रयोग गर्न दिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अर्घाखाँची कांग्रेसले पार्टी मातहतका सभापतिको नेतृत्वमा रहेको कोभिड नियन्त्रण तथा जनचेतना प्रवाह समितिले आ–आफ्नो तहमा सुरक्षित तरिकाले कार्य सम्पादन गर्न भनेको छ ।

नेपाली कांग्रेस अर्घाखाँचीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ ले नेपाल र नेपाली जनतालाई आक्रान्त पारेको बेला पर्याप्त समय हुदाँहुदै पनि अस्पतालको बन्दोवस्त नगर्नु, पर्याप्त अक्सिजन, आइसियू बेड, भेन्टिलेटर बेड सहितको औषधिको व्यवस्थापन सरकारले नमिलाएको र संस्थागत भ्रष्टाचारमा सरकार लिप्त भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,“संस्थागत भ्रष्टाचार रोकी तत्काल राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरी यथोचित प्रवन्ध मिलाउन सरकारसगँ जोडदार माग गर्दछौं ।”

स्थानीय सरकारले कोभिड नियन्त्रण एवम् रोकथामको लागि चालेका कदमप्रति धन्यवाद व्यक्त गर्दै सभापति खनालले यतिखेर विकास निर्माणका कामलाई थाती राखी स्थानीय तहको सम्पूर्ण संयन्त्र यो विपत्तिलाई नियन्त्रणका लागि लाग्नु आजको आवश्यकता भएको बताएका छन् ।

स्थानीय तहका कोभिड अस्पतालमा निशुल्क पिसिआर परीक्षण तथा उनले आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्,“अहिले जिल्लामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा जनताको सेवा प्रभावित भएको छ । तुरुन्त दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन र कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न केन्द्र एवम् प्रदेश सरकारलाई अनुरोध गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !