७ आश्विन २०८१, सोमबार

बाँकेमा उपचाररत बर्दियाका ८ सहित १५ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  11 May, 2021 11:39 am


बाँके । बाँकेमा उपचार गराइरहेका विभिन्न जिल्लाका १५ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेमा फोकल पर्सन तेज ओलीका अनुसार हिजो दिउँसो ४ : ३० देखि आज बिहान ११ बजेसम्म बाँकेका ५ सहित १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका ८, बाँकेका ५, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना रहेका छन् ।

बर्दियाको बासगढी नगरपालिकाका वडा नम्वर ९ का ७३ वर्षीय पुरुष, वडा नम्वर ५ का ६० वर्षीय पुरुष र वडा नखुलेका ४२ वर्षीय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षीया महिला र वडा नम्वर १ का ८५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै गुलरिया–६ का २१ वर्षीय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा–३ का ४५ बर्षका कोरोना संक्रमति पुरुषको मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसीरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षीय पुरुषको समेत कोरानाका कारण निधन भएको छ ।

यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का ५३ वर्षीय पुरुष र कन्चनपुरको पुर्नवास नगरपालिका–३ का ६१ वर्षीय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिर बाट आएका १ सय ५१ जना र बाँकेकै १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !