६ आश्विन २०८१, आइतबार

सरकारको नतृत्वका लागि अघि सर्‍यो कांग्रेस, सभापति देउवालाई समर्थन जुटाउने निर्णय

प्रकाशित मिति :  11 May, 2021 5:40 pm


काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको हो ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा वैशाख ३० भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने निकर्ष निकालेको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्रले कांग्रेसलाई सघाउने स्पष्ट भइसकेको र जनता समाजवादी पार्टीले पनि समर्थन गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेसले नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्षबाटपनि कुनै भूमिका निर्वाह हुनेमा विश्वस्त छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन वैशाख ३० गते राती ९ बजेसम्मको समयसीमा दिएकी छन् । जनता समाजवादी एक नहुँदासम्म नयाँ सरकार बन्ने सम्भावना कम छ ।

कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । अहिलेसम्म नयाँ सरकार गठनका लागि बहुमत पुग्छ पुग्दैन प्रष्ट भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !