७ आश्विन २०८१, सोमबार

नवलपरासी पश्चिममा नगरपालिका र प्रशासनबीच विवाद,सिलिण्डर कब्जा गरेर लगेको आरोप

प्रकाशित मिति :  11 May, 2021 8:41 pm


परासी । नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालनका लागि दिइएको अक्सिजन सिलिण्डर प्रशासनले फिर्ता लिएर गएको भन्दै आपत्ति जनाएको छ ।

नगरपालिकाले वडा नं.–४ स्थित पाल्ही बहुमुखी क्याम्पस भवनमा २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।

सेन्टरमा राख्नका लागि जिल्ला प्रशासन कार्यालयले दिएको ५० थान खाली अक्सिजन सिलिण्डर पुनः रातारात कब्जामा लिएर फिर्ता लगेको भन्दै नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रशासनको यस्तो क्रियाक्लापले आइसोलेसन सञ्चालनमा असहयोग भएको उल्लेख छ ।

हिजो सोमबार साँझ ति सिलिण्डरहरु आईसोलेसनमा आएकोले भरिएका सिलिण्डर भित्र राखिने र बेडमा जडान कार्य गरिएको र खाली सिलिण्डरहरु भर्नका लागि उद्योगमा पठाउने भएकाले ति सिलिण्डहरु नगर प्रहरीको निगरानीमा कम्पाउण्ड भित्रै राखिएको नगरपालिकाको भनाई छ । तर राती १० बजेतिर प्रशासनले प्रहरी लगाएर सिलिण्डर फिर्ता लगेको भन्दै गुप्ताले आफूहरुको मनोबल गिरेको उल्लेख गरेका छन् ।

नगरप्रमुख गुप्ताले भनेका छन्,“स्थानीय तहहरुले आ–आफनो नगरबासीहरुलाई सुरक्षित गर्न र उपचार सेवा प्रदान गर्न लाखौ रुपैयाँ खर्च गरि बनाएको आइसोलेसनमा प्रशासनले आफै पालिकाकाहरुको सिलिण्डर भरि प्रयोग गर्ने भनि जिम्मेवारीमा दिएको खाली सिलिण्डरहरु यसरी फिर्ता लैजाने कार्य गर्‍यो भने हामीले कसरी अक्सिजन सहितको उपचार सेवा प्रदान गर्न सक्छौ ?”

जिल्ला प्रशासनले कार्यालयले विभिन्न उद्योगहरुबाट संकलन गरेको खाली सिलिण्डरहरु विभिन्न स्थानीय तह र अस्पतालहरुलाई अक्सिजन भरेर प्रयोगमा ल्याउन दिइरहेको छ ।

जसअनुसार रामग्राम नगरपालिकाले आइसोलेसन सञ्चालनका लागि ५० वटा सिलिण्डर पाएकोमा १० वटा सिलिण्डरमा अक्सिजन भरि तत्काल अक्सिजन सहितको १० बेड सञ्चालनमा ल्याएको थियो ।

थप ४० वटा सिलिण्डरमा अक्सिजन भर्नका लागि २ जना नगर प्रहरीको निगरानीमा आईसोलेसनको कम्पाउण्ड भित्र राखि राखेको अवस्थामा प्रशासनले गएराति प्रहारी लगाएर नगरपालिकासंग समन्वय नगरि कब्जामा लिएर फिर्ता लगेको नगरप्रमुख गुप्ताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !