७ आश्विन २०८१, सोमबार

काठमाडौं उपत्यकामा सुरु भयो अर्को चरणको निषेधाज्ञा,बिहान १० बजेसम्म पसल खुल्ने

प्रकाशित मिति :  13 May, 2021 8:50 am


काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागु हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञा सुरु भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाठौँ,ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ । मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ । अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।



प्रतिक्रिया दिनुहोस !