६ आश्विन २०८१, आइतबार
एमालेभित्र संकट

ओली र नेपालबीच भेटवार्ता सुरु, ‘सबैकुरा बिर्सिएर’ सकारात्मक वातावरण बनाउने कसरत

प्रकाशित मिति :  13 May, 2021 2:25 pm


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नेता नेपालमाथिको कारबाही फिर्ता भएपछि दुई नेताबीच भेट भएको हो ।

नेकपा एमालेभित्र माधव कुमार नेपालसहितका ४ जना नेतालाई गर्ने कारबाही फिर्ता गर्ने निर्णय लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक वातावरण सिर्जना गर्ने प्रयास गरेका छन् ।

आज बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले ‘पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरू बिर्सिएर अगाडि बढ्ने’ निर्णयसहित कारबाही गरिएका नेता माधवकुमार नेपाल,भीम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बनको कारबाही फिर्ता लिएको हो ।

कारबाही फिर्ता लगत्तै माधवकुमार नेपाल पक्षका नेताहरूले सकारात्मक रुपमा लिएको छ । कारबाही फिर्ताको निर्णय सार्वजनिक गरेलगत्तै माधव नेपाल पक्षका नेता योगेश भट्टराईले ट्वीट गर्दै लेखेका छन्,“हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।”

अर्का नेता गोकर्ण विष्टले पनि भने,“ माधव नेपाल सहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ ।”

नेता नेपाल पक्षको औपचारिक धारणा त आएको छैन तर केही नेताले पार्टीलाई माओवादी केन्द्रसँग पार्टी एक हुनुभन्दा पहिलेको अवस्था अर्थात २०७५ जेठ २ गतेभन्दा पहिलेको अवस्थामा फर्काउनुपर्ने धारणा कायमै रहेको बताएका छन् ।

यो अवस्था नभए नेपाल पक्षीय सांसदहरूले पदबाट राजीनामा दिने बताएका छन् । माधव नेपाल पक्षले राजीनामा दिए नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठवन्धनले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सक्छ ।

त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज बेलुकी ९ बजेसम्मका लागि दिएको समयसम्म नेपाल पक्षलाई अडाएर राख्न वा समर्थन लिन अध्यक्ष ओलीलाई अति आवश्यक छ ।

नेता नेपालले आफूलाई ठूलो दलको नेताको हैसियत कायमै राखेर फेरि प्रधानमन्त्रीमा नियुक्त हुन प्रयास गरिरहेका छन् । विपक्षी गठवन्धनले बहुमत नपुराउन सकेको अवस्थामा ओली फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुन सक्छन् । त्यसका लागि पार्टीभित्र नेपाल पक्षलाई आफ्नो समर्थनमा राखिराख्न अनिवार्य छ ।

सोही अनुसार ओलीले आज विहानै महासचिव विष्णु पौडेललाई नेता नेपालसँग भेट गर्न पठाएका थिए । महासचिव पौडेल र नेता नेपालको भेटपछि बसेको स्थायी कमिटी बैठकले कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

नेपाल पक्षले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएर पार्टी एक बनाउने प्रतिबद्धता आउनै पर्ने अडान राखिरहेको छ । यदि यस्तो नभएको खण्डमा आज ४ बजे नेपाल पक्षले राजीनामा दिने चेतावनी दिएको छ ।

एमालेले पार्टी एकतालाई कायमै राख्ने गरेर सबै अधिकारी अध्यक्ष ओलीलाई दिएको छ ।

एमाले स्थायी कमिटीको आजको बैठकमा भनिएको छ, पार्टी भित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।”

माधव कुमार नेपालले राजीनामा दिने विषयमा कानून विज्ञसँग छलफल गरेका छन् । नेता नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरेका हुन् । छलफलका क्रममा कानून व्यवसायीहरूले सकेसम्म मिल्न राजनीतिक सुझाव दिएका   छन् ।

कारबाही फिर्ता सकारात्मक भनेर नेपाल पक्षले प्रतिक्रिया दिएको र महासचिव पौडेलसँग बिहानको भेट,कारबाही फिर्तापछि अहिले दुई शिर्ष नेता छलफलमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस !