३ आश्विन २०८१, बिहिबार

साढे तीन खर्बको नगदरहित कारोबार

प्रकाशित मिति :  13 May, 2021 4:56 pm


काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नगदरहित कारोबार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनासम्म मोबाइल बैकिङ र इन्टरनेट बैंकिङमार्फत करिब साढे ३ खर्ब रूपैयाँको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा मोबाइल बैंकिङबाट २ खर्ब ८४ करोड २३ लाख र इन्टरनेट बैंकिङबाट ६३ अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

यद्यपि, नेपाल राष्ट्र बैंकले आरटीजीएस, इसीसी, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई समग्र डिजिटल बैंकिङ कारोबारमा समेट्ने भएकाले चैत मसान्तसम्म यस्तो कारोबार साढे १९ अर्ब नाघेको देखिन्छ ।

मोबाइल वालेटमार्फत ८३ अर्बको कारोबार

राष्ट्र बैंकमा दर्ता भएका २८ वटा मोबाइल वालेट कम्पनीले मात्र चालू आर्थिक वर्षको ९ महिनासम्म ८३ अर्ब १८ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार गरेका छन्, यसमा क्यूआर कोडमार्फत भएको भुक्तानीसमेत जोड्दा यो रकम ९५ अर्ब ३८ करोड रुपैयाँ पुग्छ ।

यसबाहेक चालू आर्थिक वर्षको चैत मसान्तसम्म , कनेक्ट आईपीएसमार्फत् ८१ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको र प्वाइन्ट अफ सेल (पीओपी)मार्फत् २४ अर्ब ९० करोड रुपैयाँबराबरको कारोबार राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

‘वालेट’ राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक (पीएसपी) हरूले मोबाइल एप्लिकेसन (एप्स) मार्फत् वस्तु तथा सेवा किनबेच, विभिन्न सेवाका भुक्तानीका लागि विकसित प्रणाली हो भने ‘क्वीक रेस्पोन्स कोड’ (क्यूआर कोड) बैंक खाता वा वालेटको बचतसँग जोडिएको प्रत्यक्ष भुक्तानी प्रणाली हो ।

कनेक्ट आईपीएस, मोबाइल वालेट,‌ पीएसपी वा क्यूआर कोडबाट भुक्तानी गर्दा बैंकको खातामा रहेको पैसा मोबाइल बैकिङ र इन्टरनेट बैंकिङबाट ट्रान्सफर हुने भएकाले राष्ट्र बैंकले नगदरहित भुक्तानीमा यी दुई शीर्षकका कारोबारका आधारमा नगदरहित कारोबारका अनुपात निकाल्ने गर्छ ।

साउन, भदौमा औसत ७ अर्ब रुपैयाँबराबरको कारोबार मोबाइल वालेटमार्फत भएकोमा यो अनुपात ‌फागुनमा १० अर्ब र चैतमा ११ अर्ब रुपैयाँ नाघ्यो ।

क्यूआर कोडमार्फत हुने भुक्तानी साउन, भदौमा औसत ६०-६५ करोड रुपैयाँको हाराहारीमा रहेकोमा नेपाल राष्ट्र बैंकले नगदरहित भुक्तानी कारोबार बढाउने नीति लिएसँगै गत फागनुदेखि बढेर मासिक २ अर्ब पुगेकोमा चैतमा २ अर्ब ७२ करोड रुपैयाँ पुग्यो ।

यसैगरी डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरि हुने अनलाइन किनमेल (इ-कमर्स) कारोबार पनि ७ अर्ब ८७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक
आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड-     आइएमई पे
ई–सेवा फोन पे प्राइभेट लिमिटेड-              इसेवा
सेलकम प्राइभेट लिमिटेड-                       सेल पे
सी.जी.पे नेपाल प्राइभेट लिमिटेड-             सिजी पे
स्प्यारो पे प्राइभेट लिमिटेड-                     खल्ती
पे नेप प्रा.लि.–                                       मो.रू.
क्यु पे प्रा. लि.-                                      क्यु पे
नेपाल पे टाइम प्रा.लि.-                           पे टाइम
स्मार्ट कार्ड नेपाल प्रा.लि.-                      स्मार्ट कार्ड
मोहर डिजिटल प्रा.लि.-                          मोहर पे कार्ड
प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड-            प्रभु पे
इ–नेट पेमेन्ट प्रा.लि.-                            इ–नेट पे
फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि.-       मोको
कुराकानी पे प्रा.लि.-                            कुराकानी पे
पेवेल नेपाल प्रा.लि.-                            पेवेल
जि.एम.ई. पे प्रा.लि.-                            जि.एम.ई. पे
गोल्डमाइन बिजनेश ग्रुप प्रा.लि.-           डि पैसा
वी पे प्रा.लि.-                                   सुपर याप यो पे
फिनटेक इन्टरनेशनल प्रा.लि.-            यात्रा कार्ड
लेनदेन सेवा प्रा.लि.-                         लेनदेन सेवा
डिजी पे प्राइभेट लिमिटेड-                डिजी पे
नेपाल इ बिज म्यानेजमेन्ट प्रा.लि.-     मोबालेट
आई पे प्रा.लि.- आ                           ई पे
आई क्यास प्राइभेट लिमिटेड-           आई क्यास
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड- नमस्ते पे
सुलभ पे प्राइभेट लिमिटेड-           एन क्यास
छिटो पैसा प्राइभेट लिमिटेड-       छिटो पैसा
सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.- सजिलो पे



प्रतिक्रिया दिनुहोस !