नेपालकै ठूलो बैंक बन्यो हिमालय एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक, चुक्ता पुँजी २६ अर्ब ९४ कराेड पुग्ने
काठमाडाैं । हिमालयन बैंक लिमिटेड र नेपाल इन्भष्टमेन्ट बैंक लिमिटेड बीचमा सेयर अनुपात १:१ हुने गरी मर्जर सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ हुनेछ ।
मर्जरपछि चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने भएसँगै नेपालकै ठूलो बैंक हुने निश्चित भएको हो । हाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १६अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पुँजी १०अर्ब ६८ करोड रुपैयाँ छ ।
हाल इन्भेष्टमेन्टको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड रुपैयाँ छ । पुँजीकोष गणनामा यो रकमसमेत जोडिन्छ ।
यस्तै, कर्जा लगानी तर्फ हाल इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयन बैंकको १ खर्ब २७ अर्ब १४ करोड तथा निक्षेप तर्फ इन्भेष्टमेन्ट बैंकको १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयन बैंकको १ खर्ब ४३ अर्ब ७० करोड रहेको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर तथा एक्वीजिसन नीतिको अनुसरण गर्दै दुई बैंकबीच एकआपसमा गाभ्न/गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
सझौतापत्रमा इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य सुरुवात गरेका हुन् ।
दुबै बैंकले सयुक्त विज्ञप्ति जारी गर्दै मुलुकै ठूलो र सबल बैंक बन्न लागेकोमा खुशी व्यक्त गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक तथा हिमालयन बैंक लि.दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा परिचित छन् ।
मर्जरपछि सञ्चालक समितिको अध्यक्षको रुपमा पाँडे र प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको संसञ्चालक समिति हुनेछ ।
,