अर्घाखाँचीमा निषेधाज्ञाभित्रै चुरे क्षेत्रका नदीको गैरकानूनी दोहन, निकासीमा जिल्ला प्रशासनको पास
अर्घाखाँची । अर्घाखाँचीको चुरे संरक्षण क्षेत्रमा पर्ने बाणगंगा नदी क्षेत्रमा यतिवेला मेसिन प्रयोग गरी चुरे दोहन भइरहेको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको निर्णय विपरित विक्रम पावरा नदी क्षेत्रमा हेवी मेसिनको प्रयोग गरी चुरे दोहन भैरहेको हो ।
गाउँ नै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरी चुरे दोहन गरेका छन् । नगरले केही ठेकेदारसित मिलेर ऐन कानूनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने अनुमति दिएको स्थानीयको आरोप छ ।
नगरले रुपन्देहीको डि. एस. कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ८ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ ।
ठेकेदारले २ वटा ठूला औजार स्काभेटरले नदीजन्य पदार्थ निकासीका लागि करिब १ दर्जन टिप्परको प्रयोग गरि मनपरि दोहन गरेका छन् । एउटा टिप्परले दैनिक १२/१५ ट्रिप गर्ने गरेको स्थानीयको भनाई छ ।
यस अगाडी चुरे दोहनका विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि राष्ट्रपति चुरे –तराई मधेश संरक्षण विकास समितिको ध्यानाकर्षण भएको जनाएको थियो ।
चुरेमा मेसिन प्रयोगमा रोक तर कार्यान्वयन भएन
शीतगंगा नगरपालिकाले चुरे संरक्षण अन्र्तगत पर्ने बाणगंगा खोला लगायतका ६ वटा घाटक्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन/संकलनका लागि चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ जारी गरेको छ ।
सोही अनुसार विकास समितिको प्रविधिक टोलीले नै अध्ययन गरि २०७७/१२/०१ को पत्रबाट कामदारहरुबाट घरेलु औजार प्रयोग गरि नदिजन्य पदार्थ संकलन गर्न अनुमति दिएको थियो । तर अनुमति विपरित नदिजन्य पदार्थ दोहन गरेको सार्वजनिक भएपछि नगरले शर्त विपरित भएका कार्यहरू तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ ।
उक्त निर्देशन भने कार्यान्वयन भएको छैन । दिनहुँ खुलेआम मेसिनको प्रयोग गरी दोहन जारी छ ।
दोहन नरोकिएपछि समितिले पत्रमा तोकिएका शर्तहरू विपरित भैरहेका कार्य यथाशिघ्र बन्द गराई सोको जानकारी पठाउन शीतगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, डिभिजन वन कार्यालय अर्घाखाँची लगाएतलाई पत्राचार गरेको छ ।
सवारी अनुमति पत्रका भरमा निकासी
ठेकेदारले विभिन्न सरोकारवालाको मिलेमत्तोमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी अनुमति पत्रका भरमा नदीजन्य वस्तुको निकासी गरेका छन् ।
राजश्व रसिद विना नै निषेधाज्ञा ढुवानी गर्ने टिप्पर चालकले पास जारी भएको पत्र देखाउँदै निकासी गरेका हुन् । वनक्षेत्र भित्रै डम्पिङ्ग ठेकेदारले कतैपनि नियमानुसार काम गरेको छैनन् ।
उत्खननबाट संकलित केही नदिजन्य पदार्थ अर्घाखाँचीकै पावरा विक्रम गाउँ नजिकको सामुदायिक वन र धेरै परिमाण कपिलवस्तुको नन्दनगर स्थित कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनभित्र डम्पिङ्ग गरेका छन् ।
जुन वन ऐन विपरित भएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन स्याडिल्यले बताए । उनले तत्काल हटाउन पत्राचार भैसकेको बताए ।
यसरी यि दुई डम्पिङ्गमा रहेको नदिजन्य पदार्थ हेर्दापनि तोकेको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् भैसकेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले चुरेको पत्र प्राप्त भएको तर जिम्मेवार निकाय जिल्ला समन्वय समिति र नगरपालिका नै भएको हुदाँ उनीहरुले पत्रको कार्यान्वयन नगरे मात्र आफूहरूले गर्ने भन्दै प्रतिक्षामा बसेको बताए ।
समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल समेत जिम्मेवारीबाट तर्कन खोजे । उनले निषेधाज्ञाको अवस्था भयावह भएको भन्दै एक्लैले अनुगमन नहुने र १५/२० जना जान सम्भव नभएको तर्क गरे ।
ढुवानी गर्ने सवारी साधन टिप्परले रसिदको प्रयोग भने अनिवार्य गर्नुपर्ने उनको भनाई छ । शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर के.सी.ले नगरकार्य पालिकाको बैठकले मेसिनविना उत्खनन् संम्भव नभएको उल्लेख गरे ।
उनले मेसिनको प्रयोग गर्ने अनुमती दिएको भन्दै राजश्व जम्मा भैसकेको हुँँदा नगर कार्यपालिकाको निर्णय परिवर्तन नहुने र मेसिन नै प्रयोग हुने बताए ।
दोहनबारे तल्लो तटिय क्षेत्रका बासिन्दामा चिन्ताचुरेको माटो खुकुलो हुने र चुरे दोहनलाई बेलैमा नियन्त्रण गर्नेतर्फ ध्यान नदिने हो भने यसले भविष्यमा ठूलै विपत्ति ल्याउन सक्ने भन्दै चुरेको आसपास र तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
संघीय सरकारमात्र होइन, प्रदेश र स्थानीय सरकार पनि उत्तिकै सजग हुन जरुरी रहेको बाणगंगा–२ राजपुरका विपिन पौडेलले बताए ।
मुख्य कुरा चुरे संरक्षणका लागि ल्याइएका कार्यक्रमहरुको प्रभावकारी हिसाबले कार्यान्वयन गर्नुपर्छ भन्ने चुरे दोहनमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।