अक्सिजन उद्योगमा नियमित विद्युतका लागि कमिटी गठन,नोलाइट फाँटमा चौबिसै घण्टा ड्युटी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अक्सिजन उद्योगमा नियमित विद्युत आपूर्तिका लागि कमिटी गठन गरेको छ ।
प्राधिकरणले बागमती प्रादेशिक कार्यालय प्रमुख श्रीराम पाण्डेको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटी सदस्यमा प्रदेश १ का प्रमुख टेकथान टिवारी, सिमरा वितरण केन्द्र प्रमुख, रामु श्रेष्ठ, लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठकुर छन् भने सदस्य सचिवमा बागमती प्रादेशिक कार्यालयका उपप्रबन्धक सूर्यनारायण मण्डल रहेका छन् ।
प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा कोभिड–१९ को सङ्क्रमणले दिनानुदिन बिरामीहरूको संख्या बढ्दै गएकाले अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत सेवा निरन्तर आपूर्ति हुने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण पनि संवेदनशील भई लागिरहेको उल्लेख छ ।
प्राधिकरणले हाल देशव्यापी रूपमा रहेको अक्सिजनको अभाव पूर्ति गर्न अस्पताल र अक्सिजन उद्योगहरूमा विद्युत आपूर्ति अवरुद्ध हुन नदिन कमिटी गठन गरेको जनाएको छ ।
प्राधिकरणले अहिलेसम्म जानकारीमा आएका अक्सिजन प्लान्ट रहेका १७ अस्पताल र ३६ उद्योग अक्सिजन उद्योगहरु मध्ये ८ वटामा वैकल्पिक व्यवस्था गरिएको र ६ वटामा थप वैकल्पिक फिडरको निर्माण भइरहेको जनाएको छ ।
प्राधिकरणका अनुसार वैकल्पिक फिडर नभएका हाम्रो अक्सिजन ग्यास उद्योग प्रा.लि. ककनी, सोपान अक्सिजन लुभु, सिद्धि विनायक अक्सिजन गैडाकोट लगायतका उद्योगहरूमा अक्सिजन उद्योगभन्दा अगाडि ११ के.भी. लाइनमा आइसोलेटर राखी कारणवश लाइन अवरुद्ध हुन गएमा आइसोलेटर काटी अक्सिजन उद्योगसम्म तत्काल विद्युत सुचारु गर्न सकिने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
नेपाल कोरीयन मैत्री अस्पताल, ठिमीलाई अक्सिजन उद्योग सञ्चालनार्थ विद्युत क्षमता वृद्धि गरिएको छ । साथै विनायक अक्सिजन उद्योग, दुहवीको विद्युत क्षमता ४५० के.भी.बाट ६०० के. भी.मा वृद्धि गरिएको प्राधिकरणले जनाएको छ ।
केही अक्सिजन उद्योगलाई विद्युत महशुल बाँकी बक्यौता भएता पनि नियमानुसार पछि भुक्तानी गर्ने गरी हाल लाइन सञ्चालन गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।
अक्सिजन उद्योग र अस्पतालमा निरन्तर विद्युत आपूर्ति गर्न वितरण केन्द्रका नोलाइट फाँटहरूमा चौबीस घण्टा ड्युटीको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।