६ माघ २०८१, आइतबार

चितवनको भरतपुर अस्पतालमा कोरोना उपचारलाई सहज बनाउन ‘हेल्थ डेस्क’ सञ्चालन

प्रकाशित मिति :  16 May, 2021 10:30 am


चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ ।

कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् ।

त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने अध्यक्ष अधिकारीको भनाई छ । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । बिहान७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ ।

अस्पतालमा आएका बिरामीले समेत आकस्मिककक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

सङ्क्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताए । रासस



प्रतिक्रिया दिनुहोस !