१२ मंसिर २०८१, बुधबार

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ सहायक सूचक, एसएलसी पासले पनि अवसर पाउने

प्रकाशित मिति :  3 January, 2020 10:10 am


काठमाडौं, १८ पुस ।

राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ ।

शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समावेशीबाट १०४ जना माग गरेको छ । समावेशीअन्र्तगत आदिवासी जनजाति ३३, मधेशी २९, महिला २०, दलित १५ र पिछडिएका क्षेत्रबाट ५ गरी १०४ जना नियुक्त गरिने विज्ञापनमा जनाइएको छ ।

सूचना प्रकाशित भएको ३० दिनभित्र अर्थात आउँदो माघ १९ गते सम्ममा आवेदन दरखास्त दर्ता गरिसक्नुपर्ने हुन्छ ।

विज्ञापनमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । यस्तै कम्तीमा एसएलसी वा एसईई पास गरेको वा सो सरहको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले पनि आवेदन दिनसक्ने बताइएको छ ।

दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा गएर login गरी व्यक्तिगत विवरण साथै आवश्यक कागजातहरुसहित अनलाइन प्रणालीबाट भर्न सकिने विभागले जनाएको छ ।

सहायक सूचक पदको लागि १५० रुपैयाँ परीक्षा दरखास्त शुल्क (राजश्व) तिनुपर्ने हुन्छ । परीक्षा शुल्क नेपालभरका राष्ट्रि वाणिज्य बैङ्कका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !