६ आश्विन २०८१, आइतबार

नेकपा एमालेभित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

प्रकाशित मिति :  16 May, 2021 3:44 pm


काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्य दल गठन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै २ घण्टा भएको वार्तामा १० सदस्य कार्यदल बनाउने निर्णय भएको हो ।

कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् । त्यस्तै अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

नेता नेपालका अनुसार कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलले सहमतिका लागि खाका तयार पार्ने छ । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ भन्दा पहिलको अवस्थामा फर्काउनुपर्ने माग गरेको छ ।

विवाद बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका ४ नेतालाई कारबाही गरेका थिए । तर संसदमा विश्वासको मत लिन असफल भएपछि ओलीले वैशाख ३० गते नेपाल सहितका नेतामाथिको कारबाही फिर्ता गरे ।

कारवाही फिर्तापछि सोही दिन दुई नेताबीचको छलफल सकारात्मक रुपमा अगाडि बढेको हो । आजको छलफल सकारात्मक भएको अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !