बुटवल कोरोना अस्पतालमा रुपन्देहीका थप ४ जना कोरोना संक्रमितको मृत्यु
रुपन्देही । बुटवल कोरोना अस्पतालमा उपचाररहत रुपन्देहीका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार हिजो साँझ र आज दिउँसोसम्म गरेर ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–१ का ३८ वर्षीय पुरुष छन् । वैशाख ३१ गते कोरोना संक्रमित भएपछि उनी हिजो अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
सैनामैना नगरपालिका १३ का ७७ वर्षीय महिलाको पनि उपचारकै क्रममा निधन भएको छ । वैशाख २३ गते कोरोना संक्रमित भएपछि ३० गते भर्ना भएकी उनको आज बिहान १ः३५ मा निधन भएको हो ।
त्यस्तै सिद्धार्थ नगरपालिका १३ का ६५ वर्षीया महिलाकोपनि आज बिहान निधन भएको छ । वैशाख २१ गते कोरोना संक्रमित उनी जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन् ।उनको उपचारकै क्रममा आज बिहान ६ः४५ मा निधन भएको हो ।
बुटवल उपमहानगरपालिका १३ का एक कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । वैशाख २८ गते कोरोना संक्रमणको पुष्टि भएका उनी हिजो अस्पताल भर्ना भएका थिए । भर्ना भएलगत्तै हिजो बेलुकी नै ७ः५४ बजे निधन भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।