६ माघ २०८१, आइतबार
शिक्षा तथा स्वास्थ्य समिति बैठक

स्वास्थ्य अधिकारीको बिलौना,‘एकहप्ताभित्र ७/८ वटा अक्सिजन प्लान्ट नल्याए स्थिति भयावह हुन्छ’

प्रकाशित मिति :  17 May, 2021 6:20 pm


फाइल फोटो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अधिकारीले एकहप्तामै अक्सिजन प्लान्टको व्यवस्था गर्न नसके स्थिति भयावह हुने चेतावनी दिएका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अब सिलिण्डर लगभग पुग्ने भन्दै एक हप्ताभित्र ७/८ वटा अक्सिजन प्लान्ट तत्काल व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अहिले काठमाडौंमा १२ देखि १४ हजार सिलिण्डर अक्सिजनको माग भएपनि ७ देखि ८ हजारमात्रै आपूर्ति हुने गरको मन्त्रालयका अधिकारीहरूको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले अब सरकारले एक हप्ताभित्र अक्सिजन प्लान्ट स्थापन गर्न नसके स्थिति भयावह हुने चेतावनी दिए । आफूहरुले यसबार प्रधानमन्त्रीसहितका सम्बन्धित निकायलाई जानकारी गराई सकेको बताए ।

उनले भने,“एक हप्ताभित्र कम्तिमा ७/८ अक्सिजन प्लान्ट ल्याउन सकिएन भने अबको दुई हप्तापछि स्थिति भयावह हुन्छ । हामीले प्रधानमन्त्री ज्यू लगायत सबै सम्बन्धित निकायमा जानकारी गराई सकेका छौं ।”

प्रमुख विशेषज्ञ डा.पोखरेलले अक्सिजन खरिदका लागि सजिलो र सहज हुने बाटोबारे पनि सुझाव दिइसकेको जानकारी गराए ।

पूर्ण लकडाउन र संकटकाल

डा.पोखरेले निषेधाज्ञाले मात्रै संक्रमणको डर नरोकिएको बताए । उनले भने,“अब कडाखालको लकडाउनको आवश्यकता छ । निषेधाज्ञामा धेरै कमजोरी छ त्यसैले के गर्ने यसबारे माननीय ज्यूहरूको सुझाव आओस् ।”

उनले स्थिति निकै कमजोर भइसकेको भन्दै स्वस्थ्य संकटकाल लगाउनुपर्नेमा जोड दिए । उनले भने,“शब्द के राख्ने हो माननीय ज्यूहरूले भन्दिनुपर्‍यो, स्वास्थ्य संकटकालै भनेर जाने वा अन्य कुनै शब्द राखेर जाने हो तर अवस्था नाजुक छ ।”

समिति सभापति जयपुरी घर्तीले सरकारले पहल गरेपनि पुग्दो मात्रामा नभएको बताईन् । उनले स्वास्थ्य मन्त्रीलाई समिति बैठकमा आउन आग्रह गरेपनि व्यस्त भएको भन्दै आउन नमानेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्,“हामीले मन्त्री ज्यू आउने अपेक्षा गरेका थियौं तर उहाँले हामीलाई काम गर्न दिनुस् भन्नुभयो, हामीलाई थाहा छ हाम्रो जिम्मेवारी हामी सरकारको खेदो खन्ने होईन, यो समिति संयमित र जिम्मेबार छ र कसरी सहयोग गर्न सकिन्छ भन्ने हो । तर मन्त्री ज्यूले समितिले सरकारको विरोध गर्छ भन्ने परेको जस्तो लाग्छ तर हामी सहयोग गर्न चाहन्छौं ।”

अन्य सदस्यहरुले पनि मन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै स्वास्थ्य मन्त्री ह्रदयश त्रिपाठीको आलोचना गरेका थिए भर्जुअल रुपमा भएको बैठकमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सदस्य खगराज अधिकारीले संक्रमण रोगसम्बन्धी ऐनलाई अध्यादेश ल्याएर भएपनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले कार्यान्वयनका लागि मन्त्रीसँग छलफल गर्नुपर्ने बताए ।

समितिमा मन्त्रालयका कर्मचारी मात्रै आउने र सचिव पनि उपस्थित नहुने गरेको भन्दै अर्का सदस्य जीवनराम श्रेष्ठले आक्रोश व्यक्त गरे । उनले भने,“मन्त्री नै उपस्थित नभएपछि हामीले भनेका वा निर्देशन लिएका कुरा लागु हुन्छ कि हुँदैन ? मन्त्रीज्यूहरु बैठकमा किन उपस्थित गर्न चाहनुहुन्छ ?संसदप्रति जवाफदेही नहुने भन्ने भएन ।”

अर्का सदस्य उमेशलाल श्रेष्ठले अब सिलिण्डर धेरै आइसकेको भन्दै अक्सिजन प्लान्टमा सरकारले जोड गर्नुपर्ने बताए । उनले सरकारले चाहे ७ दिनमा अक्सिजन प्लान्ट आउन सक्ने दाबी गरे । श्रेष्ठले भने,“म पनि एउटा अस्पतालको जिम्मेवार ठाउँमा छु । चाहने हो भने सरकारले एक हप्तामा अक्सिजन प्लान्ट ल्याउन सक्छ ।”

नेकपा एमालेका नेता तथा सांसद् योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदनमा १ हजार बेडको कोभिड अस्पताल बनाउन प्रस्ताव गरे । भएको चीनको सहयोग लिएर तत्काल कोरोना अस्पताल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,“कारोना नियन्त्रण बाहिर गइसक्यो, हामीसँग भएको स्रोत साधनले धान्न गाह्रो छ । अहिले संक्रमण कम चीनमा छ त्यसैले चीनबाट पूर्ण सहयोग लिनुपर्छ र टियू क्रिकेट मैदानमा १ हजार बेड भेन्टिलेटर र आइसियूसहितको अस्पताल बनाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !